जनकपुर । मिटरब्याजसम्बन्धी मुद्दाको थुनछेक बहस चलिरहेका बेला धनुषा जिल्ला अदालतअगाडि मिटरब्याजपीडितले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा एक महिलाले आफ्नो शरीरमा पेट्रोलजस्तो पदार्थ खन्याएपछि अदालत परिसरमा केहीबेर तनावको अवस्था सिर्जना भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले मगबाट पेट्रोलजस्तो पदार्थ आफ्नो शरीरमा खन्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो।



अदालत प्रवेश गर्न खोजिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने क्रममा रजकले आफ्नो शरीरमा पेट्रोलजस्तो पदार्थ खन्याएको उहाँले बताउनुभयो। प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएपछि सम्भावित अप्रिय घटना हुनबाट रोकिएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। रजकले मगबाट पेट्रोलजस्तो पदार्थ आफ्नो शरीरमा खन्याउँदै गरेको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
प्रनाउ न्यौपानेका अनुसार बुधबार जिल्ला अदालत धनुषामा मिटरब्याजसम्बन्धी मुद्दामा हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेको थियो। सोही क्रममा मिटरब्याजपीडितहरू अदालतअगाडि भेला भएर प्रदर्शनमा उत्रिएका थिए।

मिटरब्याजविरुद्धको अभियानमा सक्रिय निर्ग नवीनले पनि घटनाबारे जानकारी पाएपछि पीडितसँग सम्पर्कमा पुगेको बताउनुभयो। उहाँले घटनाबारे विस्तृत विवरण बुझ्ने काम भइरहेको जानकारी दिनुभयो।

यसअघि मिटरब्याजपीडित र सरकारबीच साउन १ गते नौबुँदे सहमति भएको थियो। न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौँसम्म पैदलयात्रामा निस्किएका मिटरब्याजपीडितसँग वार्ता गर्न तत्कालीन गृहमन्त्री सुधन गुरुङ काठमाडौँबाट निजगढ पुग्नुभएको थियो। निजगढमा प्रारम्भिक वार्ता भएपछि पीडित प्रतिनिधि र सरकारबीच काठमाडौँमा थप छलफल भएको थियो।
सिंहदरबारमा भएको वार्तापछि पीडितका माग सम्बोधन गर्ने विषयमा नौबुँदे सहमति भएको थियो। सहमति कार्यान्वयन र अदालतमा विचाराधीन मुद्दाको न्यायिक प्रक्रियालाई लिएर पीडितहरू पुनः दबाबमूलक आन्दोलनमा उत्रिएका हुन्।





