काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको गठबन्धन सरकारप्रति जनतामा आशा र भरोसा बढेको दाबी गरेका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफू नेतृत्वको सरकार सही दिशामा अघि बढी रहेको पनि बताएका छन्।
सम्बोधनका क्रममा आफ्नो ६ महिने कार्यकालका 'उपलब्धिहरु' सार्वजनिक गर्दै देउवाले यस अवधिमा रूपान्तरणकारी विकासका कार्यक्रमको कार्यान्वयनलाई गति दिएको बताएका छन्।
प्रधानमन्त्री देउवाले तीव्र रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको तेस्रो लहरको रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारका बीचमा समन्वय र सहकार्य बढाइएको बताएका छन्। स्वास्थ्य प्रणालीमा कुनै पनि साधन स्रोत र जनशक्तिको अभाव हुन नदिने व्यवस्था मिलाइ उपचार व्यवस्थालाई चुस्त, दुरुस्त बनाइएको पनि देउवाले दाबी गरेका छन्।
'कोभिड-१९ लाई नियन्त्रण गर्न खोप नै प्रभावकारी उपाय भएकोले मैले प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा आगामी चैत्र मसान्त सम्ममा खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई निःशुल्क खोपको पूर्ण मात्रा दिने प्रतिबद्धता व्यक्त गरेको थिएँ। यस अनुरुप खोप अभियान जारी छ,' प्रधानमन्त्री देउवाले भने।
प्रधानमन्त्री देउवाले कोभिड संक्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी आवश्यक प्रबन्ध मिलाइने पनि बताए। 'कोभिड संक्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामाजिक क्रियाकलापमा सकेसम्म कम असर पर्ने गरी आवश्यक प्रबन्ध मिलाइनेछ। जनस्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्दै आधारभूत स्वास्थ्य सेवाहरू जस्तै- मातृशिशु स्वास्थ्य, पोषण र खोप लगायतका नियमित कार्यक्रमहरू सुचारु गरिनेछ,' प्रधानमन्त्री देउवाले भने।
कोभिड १९ विरुद्धको खोप लगाउन योग्य (१८ वर्ष माथिका) १ करोड ९९ लाख २२ हजार १६४ नागरिकमध्ये ५९.६ प्रतिशतलाई पूर्ण मात्राको खोप उपलब्ध गराइएको तथ्याङ्क देउवाले प्रस्तुत गरेका छन्। यस्तै, ७८.३ प्रतिशत नागरिकलाई पहिलो डोजको खोप वितरण गरिसकिएको देउवाले आफ्नो सम्बोधनमा बताएका छन्।
यो अवधिसम्ममा विभिन्न प्रकारका कुल ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ डोज खोप वितरण गरिएको देउवाले जानकारी दिए।
प्रधानमन्त्री देउवाले विद्युत उत्पादनमा भएको वृद्धि, आर्थिक एवं सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी र उच्च कर्जा प्रवाह तथा आयातमा भएको वृद्धिले आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने अनुमान रहेको बताए।
'यस अवधिमा मुद्रास्फिति करिब ७.११ प्रतिशतको हाराहारीमा रहेको र करिब ६.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नका लागि विदेशी मुद्राको सञ्चिति रहेको छ,' देउवाले भने, 'यस अवधिको पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य क्षेत्रमा केही दबाब पर्न गएपनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार गरिनेछ।'
चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पुष मसान्तसम्म ५ खर्ब ७६ अर्ब २४ करोड राजश्व सङ्कलन भएको देउवाले जानकारी दिएका छन्।
संघ (केन्द्र) सरकारको सार्वजनिक खर्चतर्फ १६ खर्ब ३२ अर्ब ८२ करोड वार्षिक बजेटमध्ये पुस मसान्तसम्म ५ खर्ब ६ अर्ब ७८ करोड खर्च भएको देउवाले उल्लेख गरेका छन्।
प्रधानमन्त्री देउवाले आफूले कार्यभार सम्हालेयता देशभर १७७ किलोमिटर सडक कालोपत्रे भएको र २३ सडक-पुल निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आएका बताएका छन्। ८२ वटा झोलुङ्गे पुल निर्माण भएका र मुलुककै पहिलो आधुनिक सुरुङमार्गको रूपमा रहेको नौबिसे-नागढुङ्गा ३.३ किलोमिटर सुरुङको २ किलोमिटर निर्माण कार्य सम्पन्न भएको विषयलाई पनि देउवाले आफ्नो सरकारको उपलब्धिका रुपमा उल्लेख गरेका छन्।