
महाेत्तरी- तराई-मधेशका जिल्लामा आगलागीका घटनाहरु बढी हुने गर्दछ । खासगरी हावाहुरीको समयमा सावधानी नअपनाउँदा आगलागीका घटना भएर कतिपय गाउँ नै सखाप हुने गर्छ । अर्काे लामखुट्टे धपाउन बालिएको घुरबाट समेत आगलागीका घटना धेरै हुने गरेको छ ।
तर, महाेत्तरीकाे रामगोपालपुरमा न त आगोजन्य सामग्रीबाट कुनै लापर्वाही गरिएको छ । नत कसैले आगाे तापन आगाे बालेको छ । रामगोपालपुर नगरपालिका २ स्थित माेहनपुर र सम्सी गाउँपालिका २ स्थित पर्सा अन्तर्गत रहेका सडकको छेउ-छेउमा कृषकहरूले आ-आफ्नो खेतमा लगाइएको धानकाे परालको टालमा अज्ञात व्यक्तिले आगो लगाउँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । एक स्थानीयले जानकारी दिए अनुसार, करिब २० जनाभन्दा बढी किसानकाे परालको टाल जलेर नष्ट भएको हाे । आगलागीका कारण किसानहरू ठूलो नोक्सानीमा परेका छन् ।
आगलागीपछि तत्कालै प्रदेश सांसद कुशवाहाले सीडीओ साहेबलाई जानकारी गराउँदै पीडित किसानहरूलाई राहत उपलब्ध गराउन आग्रह गरेका छन् । उहाँले किसानहरूको क्षतिपूर्ति सुनिश्चित गर्न आवश्यक कदम चाल्न प्रशासनलाई अनुरोध गरेका छन् ।

आगलागी भएको स्थानको स्थलगत अनुगमन पूर्वमन्त्री तथा प्रदेश सांसद सरोज सिंह कुशवाहा र रामगोपालपुर नगरपालिका नगर प्रमुख राम दुलार शाहले गरेका छन् । अनुगमनका क्रममा रामगोपालपुर वडा नम्बर २ का अध्यक्ष सकिबुल खां, जसपा नेपालकाे जिल्ला कार्यसमिति सदस्य पंचलाल महताे, नगर सह-संयोजक विजय कुमार यादव लगायत अन्य स्थानीय नेताहरूको पनि उपस्थिति रहेको थियो ।
पीडित किसानहरूले तत्काल राहतको माग गरेका छन् भने आगलागीको कारण पत्ता लगाई दोषी व्यक्तिहरूलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।