
सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत आज अन्तिम दिन जनकपुरधाममा रामकलेवा परम्परा भव्य रूपमा सम्पन्न भएको छ। रामकलेवाका क्रममा अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरमा ५६ व्यञ्जन खुवाएर बिदाइ गरियो।
जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले साधुसन्तलाई विशेष भोजन गराउनुका साथै दान-दक्षिणा प्रदान गरे। अयोध्याबाट करिब ५ सयको संख्यामा आएका जन्तीलाई मिथिला परम्परा अनुसार खिर, मिठाईसहितका परिकार खुवाइएको थियो।

राम जन्मभूमि अयोध्याबाट मंसिर १२ गते प्रस्थान गरेको जन्ती मंसिर १८ गते जनकपुर आइपुगेको थियो। जनकपुरमा प्रत्येक वर्ष विवाह पञ्चमी धूमधामसहित मनाइन्छ। तर, अयोध्याबाट जन्ती आउने परम्परा पाँच वर्षको अन्तरालमा मात्र दोहोरिन्छ।
मिथिला परम्परा अनुसार बेहुलासँगै आएका जन्तीलाई विवाह पश्चात् विशेष भोजन गराइने परम्परा छ। यस वर्ष पनि अयोध्याबाट आएका साधुसन्त तथा भगवान श्रीराम, लक्ष्मणसहित चार भाइको प्रतीकस्वरूप सजिएका बालबालिकालाई खिर, मिठाईलगायतका परिकार खुवाइएको थियो।

शुक्रबार साँझ बाह्रबिघा रंगभूमि मैदानमा राम-सीताको स्वयंवर सम्पन्न गरिएको थियो। त्यसपछि राति जानकी मन्दिरमा मिथिला परम्पराअनुसार राम-सीताको विवाह विधिवत रूपमा सम्पन्न भएको थियो।
रामकलेवासँगै विवाह पञ्चमी महोत्सव औपचारिक रूपमा सम्पन्न भएको छ। सप्ताहव्यापी महोत्सवका क्रममा जनकपुरधाम श्रद्धालुहरूको भीडले भरिएको थियो। आज महोत्सवको अन्त्यसँगै जनकपुरधाम खाली हुन थालेको छ।
विवाह पञ्चमी महोत्सवले मिथिला संस्कृतिको धरोहरलाई अझ जीवन्त बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ।