जनकपुरधाम- नेपाल विद्युत प्राधिकरणले सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेशमा रहेको जनाएको छ। सबैभन्दा बढी चुहावट सर्लाही वितरण केन्द्रको ४३.८२ प्रतिशत रहेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, प्राधिकरणका सातओटा प्रादेशिक कार्यालय र दुई ओटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ।



प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ ओटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट १२.९९ प्रतिशत छ। अघिल्लो वर्ष यो १७.३६ प्रतिशत थियो।
मधेश प्रदेशका जिल्लाहरूमध्ये पनि सर्लाहीको मलंगवा वितरण केन्द्रमा सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत चुहावट रहेको छ। गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट १०.१७ प्रतिशत थियो।
बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३९.८० प्रतिशत रहेको थियो। गत वर्ष त्यस केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो। महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.२७ प्रतिशत रहेकोमा यस वर्ष ३७.६१ प्रतिशत रहेको छ।
औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट ०.४८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो।
प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ ओटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ। यस केन्द्रको विद्युत चुहावट २४.८१ प्रतिशत रहेको छ। अघिल्लो वर्ष २७.२२ प्रतिशत थियो।
बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ ओटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत चुहावट रहेको छ। गत त्यस केन्द्रको २६.५८ प्रतिशत चुहावट थियो।
बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० ओटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१.९३ प्रतिशत चुहावट रहेको छ।
अघिल्लो वर्ष त्यस केन्द्रको २५.१२ प्रतिशत चुहावट थियो। त्यसपछि सिन्धुपाल्चोककै हेलम्बू वितरण केन्द्रको विद्युच चुहावट ३०.७८ प्रतिशत छ। गत वर्ष केन्द्रको चुहावट ९.२८ प्रतिशत थियो।
गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ ओटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ। केन्द्रको चुहावट अघिल्लो वर्ष १८.९२ प्रतिशत रहेकोमा यस वर्ष १५.५५ प्रतिशतमा झरेको छ।
लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ ओटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत रहेको छ। गत वर्ष केन्द्रको चुहावट १४.८४ प्रतिशत थियो।
लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ ओटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट प्यूठान वितरण केन्द्रको १९.४२ प्रतिशत रहेको छ। अघिल्लो वष त्यस केन्द्रको चुहावट १९ प्रतिशत थियो।
कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ ओटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ। केन्द्रको चुहावट गत वर्ष ३१.२५ प्रतिशत रहेकोमा यस वर्ष २७.१३ प्रतिशतमा झरेको छ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ ओटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ। गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २०.४४ प्रतिशत पुगेको छ।




