महोत्तरी । भारत सरकारसँगको सम्झौतामा सन् २०१४ मा सात अर्ब २० करोड अनुदानसहित जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडजेग रेलवेको पूर्वधार निर्माण सुरू भयो । आफ्नै घरआँगनको छेउबाटै रेल गुड्ने भएपछि बर्दिबास, किसाननगर, भंगाहालगायतका बासिन्दा निक्कै खुसी भए ।
अझ बर्दिबास नगरपालिकामा नै उक्त रेल्वेको स्टेसन बन्ने भएपछि २०७३ सालमा करिब ६० बिगाहा जमिन सरकारले अधिग्रहण पनि गर्यो । अधिग्रहण गरेको पाँच बर्ष बितिसक्दा पनि न किसानले मुआब्जा पाए न पुर्वाधार निर्माण नै अगाडि बढ्यो ।
एक सय ५० घरधुरी अहिले पनि उचित मुआब्जाको पर्खाइमा छन् । किसानहरूले रेल्वे स्टेसन बन्ने निश्चित भएको ठाउँमा गहुँ, तोरी रोपेका छन् । तर, उत्पादन भित्र्याउन पाइन्छ की पाइदैन भन्नेमा अझै त्रासमा छन् । यस्तै, त्रासका बीच पाँच बर्ष बिताएको स्थानीय भरत अधिकारीले बताए । उनी भन्छन् ‘न हामीले जग्गा आफ्नो भन्न पाएका छौ न त ढुक्कले उत्पादन गर्न पाएका छौ ।’
करिब पाँच महिनाअघि रेल्वे मुआब्जा निर्धारण समितिले अधिग्रहण गरेको जग्गालाई विभिन्न ३५ शीर्षकमा विभाजन गरी न्यूनतम सात लाख देखि ८१ लाखसम्म मूल्य निर्धारण गरेको थियो ।
मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मूल्यप्रति आपत्ति जनाउँदै कतिपय किसान आन्दोलनमा पनि उत्रे । तर, पाँच बर्षसम्म जग्गा अधिग्रहण गरी किसानलाई अलमलमा पारेको बताए पनि अधिकांश निर्धारित मुआब्जा मूल्य लिन तयार समेत भए । ‘मुआब्जा लिन तयार हँुदा नदिने तयार नहुँदा लिनुस् भन्ने सरकारले अलमलमा पार्न खोजिरहेको छ ।’ स्थानीय विनोद खड्का भन्छन् ।
मुआब्जा प्रक्रियामा राजनीति मिसिएका कारण पनि मुआब्जा वितरण ढिलासुस्ती भैइरहेको पीडितको भनाइ छ । रेलवे मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मूल्यमा चित्त नबुझे व्यक्तिगत रुपमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिन गृह मन्त्रालयले अनुरोध गरेको थियो ।