जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत आज मधेस प्रदेशका जिल्लाहरुमा उखु जुलुस निकाल्ने तयारीमा जुटेको छ ।
पूर्व घोषित कार्यक्रम अन्तर्गत उखु जुलुस प्रदर्शन गर्ने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिए । उनका अनुसार उखुको बाँकी रकम भुक्तानी गर भन्दै उखु बोकेर किसान र जनमतका कार्यकर्ताले जुलुस निकाल्नेछ ।
किसानलाई मलखाद समयमा सहज रुपले उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, उखुको बाँकी भुक्तानी अबिलम्ब दिनुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि आन्दोलनरत छ ।
तर किसानको माग सम्बोधन गर्न संघीय सरकार उदासिन देखिएको छ । किसानको माग पुरा गर्नुको साटो आन्दोलनलाई दमन गरेर अन्त्य गर्ने सरकारको रणनीति छ । जनमत पार्टीले भने माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।