जनकपुर। मधेश प्रदेशमा दुईजना राष्ट्रिय सभा सदस्यको लागि मतदान सुरु भएको छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाम महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदान सुरु भएको मतदान अधिकृत पुष्पा झाले जानकारी दिइन्।
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता घटक पाँच दलको गठबन्धन छ भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) बीच गठबन्धन छ।यो प्रदेशमा एकजना अन्य र महिला तर्फको गरी दुईजना पदको लागि निर्वाचन हुँदै छ।
पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपाका महमद खालिदको उम्मेदवार छन्। यस्तै एमाले लोसपा गठबन्धनबाट अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रुपा यादव उम्मेदवार छन्। गठबन्धन गर्ने बेला एमालेबाट महिला तर्फ उम्मेदवारी दिएकी एमालेकी विना देवी साहले उम्मदेवारी फिर्ता लिएकी थिइन्।
मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ।
यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्।मधेसमा प्रदेश सभा सदस्यको मतभारअनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ।
यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन्। जसअनुसार प्रदेश २ मा कुल मतभार ९ हजार ८ सय १६ छ।