
जनकपुरधाम।मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । दीपावली सकिएपछि तराई मधेसका मानिसहरू छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् भने जनकपुृरधाम सहित सम्पूर्ण तराई मधेसका बजारहरु निकै चहलपहल बढेको छ।
लक्ष्मीपूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ।
तराईका बजारमा छठ पूजाका लागि अनिवार्य रूपमा चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्ने ग्राहकहरूको निकै भिडभाड देखिएको छ।
खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन्। यो समय माटो तथा बाँसका सामग्री खरीद गर्नेको पनि भिडभाड देखिएको छ।
अहिले छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् ।
तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि धमाधम भई रहेको छ। स्थानीय एफएम रेडिओहरुले पनि अहिले छठका गीतहरु बजाउन सुरु गरेका छन्।
जनकपुरको गंगा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउ लगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ।युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिंगार्न जुटेका छन् ।
छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् । र, भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाहरूले यो पर्व मनाउँछन्। यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोवार देखि सुरु भएको पर्व अन्तर्गत बुधवार साँझ अस्ताउँदो सूर्यलाई र विहिवार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ ।





