
- बेचन कुमार महताे
व्यक्ति वा समाज बाहिरवाट समृद्ध देखिए पनि भित्रबाट कँगाल र दरिद्र हुन सक्दछ वा बाहिरबाट कँगाल देखिए पनि ब्यक्ति भित्रबाट सुसम्पन्न र समृद्ध हुन सक्दछ । त्यसैले समृद्धिको अनुभूति गर्ने र गराउने हो भने जिवनमा सुख सँगै शान्ति र सुरक्षा अवस्थालाई पनि आन्तरिकिकरण गर्न गराउन सक्नु पर्दछ । अतः सुख र शान्ति समृद्धिको पुर्व शर्त हो भन्दा अन्यथा नहोला । यदि तपाई अशान्त मनले सुख साथ बसे पनि तपार्इं समृद्ध भने नहुन पनि सक्नुहुन्छ । त्यसैले समृद्धि भनेको कुनै पोजिसन होइन, यो त मानवको व्यक्तित्व र चरित्र बिचको सम्बन्ध हो । भौतिक सम्पतिले व्यक्तित्वलाई प्रभावी र प्रतिष्ठित त बनाउन सक्ला तर व्यक्तिले भौतिक सम्पति सँगै आफ्नो चारित्रिक सदभावलाई व्यवहारमा उतार्न सक्यो भने उसको जिवनमा वास्तविक समृद्धि आउन सक्दछ । समृद्धिलाई बुझ्नको लागि निम्नानुसारको चौबाटोको व्यवस्था, जसमा दुई सहि तथा दुई बिपरीत मार्गलाई दिमागमा राख्न सक्नु पर्दछ ।
१. ईमानदारिता
पढे लेखेको मानिस जब समृद्ध बन्छ उसँग विश्वास र स्पष्ट दिशानिर्देश हुन्छ, व्यक्ति निहित सँस्कारको बलमा आफ्नो समाज र राष्ट्रको लागि केही राम्रो गर्न सक्ने ल्याकत राख्दछ । त्यसैले समृद्धि उन्मुख हुन पहिलो तथा अनिवार्य पथ भनेकै ईमानदारिताको पथ हो । भले हि व्यक्ति कमै पढे लखेको होस् यदि उसले व्यवहारमा ईमानदारिता प्रदर्शन गर्न सक्यो भने यो नै उसको योग्यता भनेर बुझिन्छ । ईमानदारिता केवल पैसा कमाउनमा मात्र होईन खर्च गर्नमा पनि राख्न सक्नु पर्दछ । शास्त्रमा भनिएको छः अर्जित सम्पतिको निश्चित अंश देवता, ऋषि-मुनि र पितृ उपर खर्चिनु पर्दछ । देवता उपर खर्च गर्नुको मतलव आफ्नो कमाई यस्तो कार्यमा लगाउनुस् जसले प्रकृतिको संरक्षण गरोस्, प्रकृतिको सम्मान गरोस् । ऋषि-मुनिमा धनको उपयोगको मतलव सामाजिक चरित्र, सदाचार तथा शान्ति मार्गको प्रचार प्रचार गर्ने व्यक्तिमा धन खर्चिनु भन्ने हो । त्यसै गरी पितृमा धनको खर्च गर्नुृ भनेको दिवंगत पारिवारीक सदस्यहरुको स्मृतिमा केही राम्रो काममा लगानी गर्नु हो । तिव्र परिवर्तित वर्तमानको दौडमा समृद्धि प्राप्तिको लागि गर्नु पर्ने सबैभन्दा ठुलो ईमानदार प्रयास भनेको शिक्षामा जोड दिनु हो । कम वा अनपढले समेत सम्पति आर्जन गर्न सक्ने समय अहिलेको प्रतिस्पर्धात्मक युगले सकभर स्वीकार्न सक्दैन । सम्मान साथ दुई छाक खाना तथा अति सम्मान साथ आर्जित समृद्धिले अहिले शिक्षितलाई मात्र शोभा दिन सक्दछ । यद्यपि पढे लेखेका समृद्ध व्यक्ति सदैव साह्रै राम्रो नै हुने कुरोको कुनै जरुरी छैन, तिनले पनि अरुको जस्तै गलत कार्य गर्न सक्दछन् । शास्त्रमा लेखिएको छः नास्ति विद्या समं चक्षुः । मतलव विद्या समान अन्य कुनै नेत्र छैन । यहाँ नेत्र भनेको दुरदर्शिता हो । त्यसैले शिक्षा, संस्कार र समृद्धिको त्रिकोणलाई आत्मसात गर्न सकियो भने यो मानवता मात्रको लागि उपयोगी हुन सक्छ । अतः ईमानदारीतापुर्वक समृद्धि उन्मुख कदम उठाउनु नै आजको आवश्यकता हो ।
२. परिश्रम
यदि समृद्धिको वैवाहिक स्वयंवर आयोजना गर्ने हो भने वरमाला पहिर्याउन उनले परिश्रमीलाई नै चयन गर्नेमा दुईमत छैन । समृद्धितर्फ जाने दोश्रो मार्ग परिश्रम नै हो । बाउबाजेबाट बिरासतमा पाएको सम्पतिको कारण तत्काललाई परिश्रम गर्न नपर्ने हुन सक्दछ, तर भविष्य यति अनिश्चित र प्रतिस्पर्धी छ की पुख्र्यौली सम्पति जोगाउन मात्रै भए पनि परिश्रम गर्नै पर्ने हुन्छ । तर हेक्का रहोस्, परिश्रम संतुलित हुनु पर्दछ न की असन्तुलित । असन्तुलित परिश्रमको कारण स्वास्थ्य बिग्रन सक्दछ । परिश्रमसँगै विश्राम आवश्यक छ । समृद्धि पाउने लोभमा आवश्यकता भन्दा बढि परिश्रम गरियो भने थकाईको कारण समृद्धि उपभोग काविल नहुन सक्दछ । हो, थकाई नलाग्ने परिश्रम गर्नु भनेको समृद्धिको उपयोग प्राणीको रक्षाको खातिर गर्नु, समाज सेवामा गर्नु, कुटुम्ब र हिस्सेदारलाई ईमानदारीपुर्वक उनको हिस्सा दिनु तथा स्वयंको उपभोगमा ल्याउनु हो । समृद्धिको लागि परिश्रम गर्नै परे ३ कुरामा ध्यान दिनु आवश्यक छः दवा (औषधी), दुवा (शुभेच्छा) र दौलत (सम्पति) । प्रथमतः स्वास्थ्य बिग्रे औषधी खानु पर्दछ, मतलव स्वास्थ्यको ख्याल गरी मेहनत गर्नु पर्दछ । दोश्रो सबैको शुभेच्छा र बधाई पाउन सक्ने गरी मेहनत साथ काम गरेर देखाउन सक्नु पर्दछ, र तेश्रो सम्पति कमाई छाड्ने संकल्प लिन सक्नु पर्दछ ।
समृद्धिको लागि परिश्रम आवश्यक छ । परिश्रम गर्दा व्यक्तिगत तरीका, रवैया, शैली, व्यवहार तथा स्वभावमा ध्यान दिनु पर्दछ । तपाँईको तरिका तथा रवैया विल्कुल स्पष्ट हुनु पर्दछ ता कि समृद्धिको मार्ग प्रशस्त होस्, सम्पतिको आर्जन होस् तथा खर्चको न्यायिकता प्रमाणित होस् । अरुसँग गरिने व्यवहार निकै नरम हुनु पर्दछ । आफ्नो जिवनशैलीलाई धरातलिय संस्कृतिमा जोड्नु पर्दछ । आफ्नो स्वाभावलाई अध्ययन गर्नु पर्दछ, आत्मवोधलाई अनुसरण गर्न सक्नु पर्दछ । आत्मवोधलाई व्यवहारमा उतार्न सक्ने भित्रैबाट सर्वाधिक समृद्ध हुन्छ । भित्री समृद्धि र बाहिरी भौतिक सम्पतीको मिलन नै वास्तविक समृद्धि हो ।
३. अपराध
अपराधको मार्गवाट प्राप्त समृद्धि निकै नाजुक हुन्छ । अपराधी बिच समृद्धि तडपि रहेको हुन्छ । समृद्धि हासिल गर्ने पहिलो गलत बाटो भनेकै अपराध हो । अपराध मार्गमा हिंसा, शोषण, चोरी, सुरा सुन्दरी तथा मदिरापान जस्ता मोडहरु आउँछ । अपराध मार्गका यात्रीले जहिले पनि धन कमाउन सर्टकट अपनाउने गर्दछन् । अपराध मार्गबाट आर्जित समृद्धिले हामीलाई लोभ्याउन सक्छ तर हामी भ्रमित हुनु हुदैन । केहि अपरिपक्व युवाले अपराध मार्गलाई नै आफ्नो आर्दश मान्ने गर्दछन् । यथार्थमा यस्ता टोले, मुन्द्रे डनहरु रोचक चाहीं हुन सक्छन् तर प्रेरक बन्न सक्दैनन् । तर समृद्धिको आकर्षण यति कडा हुन्छ की सोझा साझा, भलादमी व्यक्तिहरुले पनि कहिले काल उक्त अपराधको मार्ग खुसी साथ चुन्ने गर्दछन् । अझ कतिपयले त एक पटक जिवन समृद्ध भए पश्चात अपराधको मार्ग छोड्ने झुठो प्रतिज्ञा लिन्छन् । यर्थात के हो भने अपराध मार्गको अन्त्य त्यही हुन्छ जहाँवाट यो शुरु भएको हुन्छ । त्यसैले अपराध कदापी समृद्धिको मार्ग हुन सक्दैन ।
यहा प्रश्न उठ्न सक्द्छः समृद्धि हासिल गर्न अपराधको मार्गले लोभ्याए के गर्ने त ? यसको लागि सब भन्दा पहिले व्यक्तिले आत्म केन्द्रित सकारात्मक उर्जालाई खोज्नु पर्दछ । हामी सबैमा सकारात्मक अध्यात्मिक आत्म उर्जा छ । यदि यस उर्जाको सहि उपयोग गरियो भने हामी सही व्यक्ति भनेर चिनिन्छौ, दुरुपयोग गरियो भने हाम्रो लागि भ्रष्टाचारको मार्ग प्रशस्त छ नै । आफु भित्रको जीवन उर्जालाई जान्नु बुझ्नु छ भने योगाभ्यासको साहारा लिन सकिन्छ । नियमित रुपमा योग गर्नु पर्दछ । यसको लागि आँखा बन्द राखी विचारशून्य मुद्रामा स्वास लिनु पर्दछ । जब स्वास विचारशून्य हुन्छ, तपाँई भित्रको उर्जा शान्तिको मार्गमा बग्न थाल्दछ र जब यस्तो उर्जाले मन तृप्त हुन्छ तब यही उर्जा बाहिर निस्की बिना कुनै भ्रम मानवलाई ईमानदारिता तथा परिश्रमीको सहि मार्गमा डोर्याउँदछ । दृढ निश्चित गन्तव्य र सही नक्साले हामीलाई दिगभ्रमित हुन दिंदैन । यहि नै सहि उर्जाको सदुपयोग हो अन्यथा नकारात्मक उर्जाले त हामीलाई सदैव गलत बाटो देखाउँछ नै ।
विर्सन के हुदैन भने अपराधको मार्ग अपनाएर आर्जित गरिएको समृद्धिको सबैभन्दा ठुलो मूल्य परिवारले चुकाउनु पर्ने हुन्छ । अपराधीको परिवार कहिलै पनि सुरक्षित तथा शान्त भएर बस्न सक्दैन ।
४. भ्रष्टाचार
समृद्धि प्राप्त गर्ने दोश्रो गलत मार्ग भ्रष्टाचार हो । यहाँआफ्नो क्षमता तथा अधिकार भन्दा बढि समृद्धि आर्जन गर्ने साधन र तरिकालाई भ्रष्टाचार भन्न सकिन्छ । भ्रष्टाचारको मार्गमा झुठ, क्रोध, दम्भ, भोग-विलास जस्ता व्यवहारहरु सामान्य हो । जब कुनै भ्रष्ट व्यक्ति समृद्ध हुन्छ तब सामाजिक मनोविज्ञानले सबै समृद्ध व्यक्तिलाई भ्रष्ट देख्दछ । कुनै पनि व्यक्तिले गलत बाटो अपनाएर नै समृद्धि हासिल गरेको आम वुझाई हुन थालेको छ । यहाँ ईमान्दार तथा परिश्रमीले बारम्वार आफु ईमानदार तथा परिश्रमी भएको सवुत पेश गर्नु परेको छ, प्रचार प्रसार गर्नु परेको छ । यस्तो प्रचार प्रसारले व्यक्तिलाई समृद्धिको सहि मार्गको लागि प्रेरित भने गर्ने गर्दछ ता कि सहि तरिकाले पनि सम्पती कमाउन सकिने रहेछ भन्ने आत्म बिश्वास बनोस । सहि साधन र ईच्छाशक्तिले समृद्धि हासिल गर्न सकिने रहेछ । भ्रष्टाचारको दलदलबाट बच्न हामी अध्यात्मिक हुन जरुरी छ । सबै भन्दा पहिले हाम्रो जिवन कहाँबाट सञ्चालित छ ? (आत्मा वा बाहिरी सम्पतीबाट) भनेर बुझ्नु पर्दछ ।
खानाको थालमा छोडिएको जुठो अन्नले कहिले पनि खाना पकाईदैन । तर हामीले हाम्रो जिवनमा कतिपय काम अर्काको जुठोवाट गर्ने गर्दछौ । कसैले प्रशंसा गर्दैमा आफुलाई राम्रो ठान्न थाल्दछौं । कसैले आलोचना गर्दैमा दुःख मनाउ गर्छौं । यहि नै अरुवाट सञ्चालित भएको संकेत हो । त्यसैले स्वयंलाई आफ्नो मालिक बनाउन सक्नु पर्दछ । जिवनको अधिकाँश निणर्याधिकार स्वयंको हुनु पर्दछ । यहि निणर्याधिकार मध्ये एक हो सम्पति अर्थात समृद्धिको । हामी सम्पतीवाट नभई सम्पती हामीबाट सञ्चालित हुनु पर्दछ । त्यसैले कुन मार्गबाट समृद्धि हासिल गर्ने हो? हामीले तय गर्न सक्नु पर्दछ । जसरी हाम्रो खुसि स्वयंको हुनु पर्दछ त्यसरी नै समृद्धि वा सम्पति कमाउने प्रयास पनि व्यक्तिगत ईमानदारिता र परिश्रम केन्द्रित हुनु पर्दछ । मार्ग के हुनु पर्ने हो स्वयंले नै तय गर्न सक्नु पर्दछ ।
साराँश
अपराध र भ्रष्टाचारको कुकर्मबाट आर्जित समृद्धिले सदैव मन अशान्त बनाई राख्दछ । अपराध र भ्रष्टाचार माकुराको जालो जस्तै हो । जसमा एक चोटी फसेपछि पुनः मुक्ति मार्ग प्रायः अनिश्चित नै हुन्छ । शारिरीक कष्ट, दुःख, चिन्ता, अशान्ति जस्ता व्यक्तिगत तथा सामाजिक कुतत्वहरुले समाजलाई कुपोषित गरी रहनेमा कुनै शंका रहदैन । त्यसैले ईमानदारिता र परिश्रमको मार्गबाट समृद्धिलाई सिंचित गर्नुपर्ने आजको आवश्यकता हो र यहि नै वास्तविकता हो । त्यसैले समृद्धि नै सौभाग्य हो, यसलाई दुषित हुन दिनु हँुदैन । आजको युग विज्ञान र प्रविधीको हो । यी दुई तत्वको समृद्धिसँग गहिरो सम्बन्ध स्थापित भएको छ । तर आज विज्ञान र प्रविधी पनि अपराधको मार्गमा अगाडि बढेको देखिन्छ । सावधानीूुर्वक यी दुई तत्वको प्रयोग समृद्धिको खातिर गर्न सकियो भने ईमनादार परिश्रम गर्ने जो कोहीको लागिपनि यी हितकर नै हुन सक्दछ ।त्यसैले समृद्धिको मापदण्डमा विज्ञान र प्रविधीको प्रयोगलाई लिन सकिन्छ । फेरी यर्थात के पनि हो भने विज्ञान र प्रविधी मात्रले आर्जित समृद्धिले हामीलाई उपभोगवादी मात्र पनि बनाउन सक्दछ । अतः विज्ञान र प्रविधीबाट आर्जित समृद्धिलाई शास्त्रिय मान्यतासँग जोड्न सकियो भने जीवनमा वास्तविक सुख र शान्ति हुने निश्चित छ ।