महोत्तरी – कम भोल्टेज, सिँचाइ ट्रान्सफर्मरको अभाव तथा विद्युत् आपूर्तिमा देखिएका समस्याका कारण किसानहरू प्रभावित भएको भन्दै महोत्तरीको गौशालास्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा स्थानीय सेवाग्राही तथा किसानहरूले ज्ञापनपत्र बुझाएका छन्।
शुक्रबार बिहान स्थानीय सेवाग्राहीहरूको एक समूहले वितरण केन्द्रका प्रमुख उपप्रबन्धक उमेशप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउँदै कृषि प्रयोजनका लागि आवश्यक विद्युत् सेवा सहज बनाउन माग गरेका हुन्। ज्ञापनपत्रमा कम भोल्टेज र ट्रान्सफर्मर अभावका कारण किसानहरू खेतमा सिँचाइ गर्नबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ।




किसानहरूले खेतमा जडान गरिएका स्यालो ट्युबवेल तथा बोरिङहरू पर्याप्त भोल्टेज नपाउँदा सञ्चालनमा समस्या भइरहेको जनाएका छन्। जडान गरिएका ट्रान्सफर्मरहरू समेत पर्याप्त सुरक्षाको अभावमा चोरी हुने क्रम बढ्दै गएको भन्दै त्यसतर्फ पनि आवश्यक ध्यान दिन आग्रह गरिएको छ।
कृषि उत्पादनको मुख्य समयमा विद्युत् आपूर्तिसम्बन्धी समस्या समाधान हुन नसक्दा किसानहरू मर्कामा परेको उल्लेख गर्दै ज्ञापनपत्रमार्फत कम भोल्टेजको समस्या समाधान, आवश्यक स्थानमा सिँचाइ ट्रान्सफर्मर जडान तथा विद्युत् पूर्वाधार सुदृढीकरणका लागि पहल गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै वितरण केन्द्र प्रमुख यादवले विद्युत् सेवाप्रति सेवाग्राहीका गुनासा र मागप्रति प्राधिकरण गम्भीर रहेको बताउनुभयो। मागको चाप उच्च रहेकाले उपलब्ध स्रोत–साधन र प्राथमिकताका आधारमा समस्याहरू क्रमिक रूपमा समाधान गरिने उहाँको भनाइ थियो।
यसैबीच,महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित सम्सी–गौशाला सडकखण्डअन्तर्गत पर्सा देवाड क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको विषयलाई लिएर स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका छन्। विद्युत् लाइनमा देखिएको खराबी समयमै मर्मत नगरिएको भन्दै स्थानीयले विरोध जनाएका थिए।
स्थानीयको विरोधपछि नेपाल विद्युत् प्राधिकरणले इन्जिनियरसहितको प्राविधिक टोली खटाई बिग्रिएको लाइन मर्मत तथा नयाँ तार जडानको काम थालेको थियो। मर्मत कार्य सुरु भएपछि स्थानीयले सडक अवरोध हटाएका छन्।

स्थानीयवासीका अनुसार अत्यधिक गर्मीका बेला पटकपटक विद्युत् आपूर्ति अवरुद्ध हुँदा बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरू बढी प्रभावित भएका छन्। विद्युत् सेवा नियमित र भरपर्दो बनाउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उनीहरूको माग छ।

महोत्तरीसहित मधेशका विभिन्न जिल्लामा हाल अत्यधिक गर्मीका बीच विद्युत् आपूर्तिमा देखिएका समस्या र कम भोल्टेजका कारण कृषि सिँचाइ तथा दैनिक जनजीवन प्रभावित हुँदै गएको छ। यस्तो अवस्थामा विद्युत् पूर्वाधारको स्तरोन्नति र सेवा व्यवस्थापन प्रभावकारी बनाउन स्थानीयवासी तथा किसानहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।















