महोत्तरी- महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित सम्सी–गौशाला सडकखण्डको पर्सा देवाड क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै स्थानीयवासीले गरेको सडक अवरोध हटाइएको छ।
विद्युत् लाइन समयमै मर्मत नगरिएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली घटनास्थलमा पुगेर बिग्रिएको लाइन मर्मत तथा नयाँ तार ओछ्याउने कार्य सुरु गरेपछि स्थानीयवासी सडक खोल्न सहमत भएका हुन्।



नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख इन्जिनियर उमेशप्रसाद यादवले उक्त क्षेत्रमा जडान गरिएको पुरानो तारका कारण पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या देखिँदै आएको बताउनुभयो। उहाँका अनुसार प्राधिकरणको टोलीले समस्या समाधानका लागि मर्मत कार्यलाई तीव्रता दिएको छ भने नयाँ तार ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ।
स्थानीयवासीले विद्युत् भार व्यवस्थापनका लागि थप ट्रान्सफर्मरको समेत माग गरेका छन्। सो मागका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको प्रमुख इन्जिनियर यादवले जानकारी दिनुभयो।
स्थानीयवासीका अनुसार अत्यधिक गर्मीका बेला बारम्बार विद्युत् अवरुद्ध हुँदा बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरू बढी प्रभावित भएका थिए। पटक–पटकको समस्यापछि बाध्य भएर सडक अवरोध गर्नुपरेको उनीहरूको भनाइ छ।
विद्युत् लाइन मर्मत तथा स्तरोन्नतिको काम सुरु भएसँगै समस्या समाधान हुने विश्वास व्यक्त गर्दै स्थानीयवासीले सडक अवरोध हटाएका छन्। प्रहरीको समन्वयमा अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।





