मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र होइन देशको प्रमुख धार्मिक गन्तव्य रुपमा विकास गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
जनकपुरधामस्थित चारे तारे होटल पौवाको १९औँ शाखा उद्घाटन तथा सोही होटेलद्वारा आयोजित बृहत् खाना प्रदर्शनी २०८३ को उद्घाटन गर्दै उहाँले भारतको उत्तर प्रदेशमा रहेको राम जन्मभूमिमा भगवान् श्रीरामको दर्शनका लागि वार्षिक रुपमा आउने ५० करोड पर्यटकमध्ये ५ प्रतिशत पर्यटक जानकी जन्मभूमिमा आए यस क्षेत्रको पर्यटन विकासमा कायापलट हुने बताउनुभयो ।



मुख्यमन्त्री यादवले बुद्ध एअरले चाँडै जनकपुरधाम–अयोध्या, अयोध्या–जनकपुरधाम सिधा हवाई सेवा उडानका विषयमा तयारी गरेको र सेवा शुरु भएपछि जनकपुरधाममा आउने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि हुने बताउनुभयो ।
मुख्यमन्त्री यादवले संघीय सरकारले प्रस्तुत गरेको बजेटमा मधेश प्रदेशलाई अपेक्षाअनुरूप सम्बोधन नगरिएको गुनासो व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री यादवले केही समयअघि प्रधानमन्त्रीसँग भएको भेटवार्ताका क्रममा मधेशलाई विशेष प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन प्राप्त भएको भए पनि बजेटमा त्यसको प्रतिफल नदेखिएको उल्लेख गर्नुभयो।

उहाँले मधेश प्रदेश तथा जनकपुरधामलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन हुने अपेक्षा गरिएको भए पनि बजेटले त्यसलाई समेट्न नसकेको धारणा व्यक्त गर्नुभयो।
मुख्यमन्त्री यादवले धार्मिक पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि जनकपुरधामले अपेक्षित प्राथमिकता प्राप्त गर्न नसकेको बताउनुभयो। अयोध्यामा हरेक वर्ष करोडौँ श्रद्धालु पुग्ने गरेको उल्लेख गर्दै उहाँले माता सीताको जन्मस्थली जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न संघीय सरकारबाट पर्याप्त ध्यान र लगानी आवश्यक रहेको बताउनुभयो।
उहाँले जनकपुरधामलाई ‘म्यारिज डेस्टिनेसन’का रूपमा विकास गर्ने विषय चर्चामा रहे पनि संघीय बजेटले त्यसलाई समुचित रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो। यद्यपि, उक्त अवधारणालाई साकार पार्न प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य गरी अघि बढिने उहाँको भनाइ थियो।
मधेश प्रदेशमा तारे होटलहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले यसले पर्यटन क्षेत्रको सम्भावना थप विस्तार गरेको बताउनुभयो। आवश्यक सहयोग र लगानी उपलब्ध भए जनकपुरधामलाई धार्मिक तथा वैवाहिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो।
संघीय बजेटले अपेक्षा पूरा गर्न नसकेको भए पनि प्रदेश सरकार पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा लगानी अभिवृद्धिका क्षेत्रमा आफ्नै पहलमा कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता मुख्यमन्त्री यादवले व्यक्त गर्नुभयो।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले जनकपुरधाममा शुरु भएको चार तारे होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै होटल पौवाले मिथिला कला, संस्कृति, संस्कार तथा परिकारको प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
होटल पौवा सञ्चालक समितिका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
बृहत् खानाको प्रदर्शनी पर्सिसम्म चल्नेछ ।





