
धनुषा। धनुषामा आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । आज सोमबार जिल्ला अदालत धनुषाको इजलास नम्बर-३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २७ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिनुभयो ।
त्यसैगरि सोहि घटनामा पक्राउ परेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको छ ।गत कात्तिक २९ गते दिपावली कै दिन जनकपुरधाम उपमहानगरपालिका-७ स्थित ससुरालीमा गएर संजीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।
आरतीमाथि एसिड प्रहार गरेकै दिन संजीव पक्राउ परेका थिए भने संजिवको बयानको आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्ता पछि पक्राउ गरिएको थियो ।
घटना पश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जिव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुबै जना बिरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ वटा कसुरको सजायका लागि माग दावी गरिएको थियो । अंगभंगमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकिकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको थियो ।
यस मुद्दामा यसअघि ६ वटा पेशी भएपनि विभिन्न कारणले स्थगित गरिएको थियो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानून व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जिवलाई सजायको लागि पेशी हुने बताउनुभयो ।
अदालतले दोषी ठहर गरिसकेपछि अब अर्को पेशीमा सजाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । ‘सजायको सन्दर्भमा सरकारी वकीलबाट प्रतिवेदन माग गरिएको छ’ उहाँले भन्नुभयोे, ‘त्यो पेश भएपछि सजाय तोकिनेछ ।’४ वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठा निवासी संजीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।
एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती लगायतका शरीरको आधि अंग जलेर कुरुप बनेका छन् । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ ।
घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरती माथि सञ्जिवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताउनुभयो । केही वर्षअघि पनि सञ्जिवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए ।


