बर्दिबास – ‘के तपाईं दुध उत्पादक किसान हुनुहुन्छ, तर बजार पाउनुभएको छैन ?’ यदि यस्तो समस्या छ भने अब चिन्ता लिनु पर्दैन ।
बर्दिवास नगरपालिकाले दुधको बजार सुनिश्चित गर्दै किसानको घरमै आएर किन्ने व्यवस्था सुरु गरेको छ । यो व्यवस्था लागू भएसँगै पशुपालनमार्फत जीविकोपार्जन गर्दै आएका किसानहरूले अब बजार आफैँ खोज्नुपर्ने, उपभोक्ता पहिचान गरेर घरदैलोमा दुध पु¥याउनुपर्ने र पैसा उठाउन घरघर धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।



नगरपालिकाका अनुसार प्रारम्भिक चरणमा किसानहरूले आफूले उत्पादन गरेको दुध निर्धारण गरिएको संकलन केन्द्रसम्म ल्याएर जम्मा गर्नुपर्नेछ । त्यसपछि क्रमशः गाउँ तथा टोल स्तरमा दुग्ध किसान समूह गठन गरिनेछ । समूह गठन भएपछि सम्बन्धित समूहका अध्यक्ष वा प्रतिनिधिले घरघरमै पुगेर दुध संकलन गरी बजारसम्म पु¥याउने व्यवस्थासमेत गरिने नगरपालिकाले कार्यविधि बनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार उक्त कार्य गर्ने जिम्मेवारी साझा संस्थालाई दिइएको छ । किसानहरूले उत्पादन गरेको दुध संस्थाले लिने र किसानहरूसँग सिधा जोडिने व्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।
तथ्यांकीय योजना नबने पनि सतहीरूपमा आएका गुनासालाई मध्यनजर गर्दै नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बनाएको यो योजनाले निक्कै चर्चा पाएको छ ।
नगरसँग नगर क्षेत्रका कति किसानले दुध उत्पादन गरिरहेका छन् र कति परिमाण बेच्छन् भन्ने यकिन तथ्यांक छैन । तर बजारीकरणसहित सुरु गरिएको यो प्रणालीले पशुपालक किसानहरूमा थप प्रोत्साहन मिल्ने र नगरलाई दुधमा आत्मनिर्भर बनाउने विश्वास गरिएको छ । ‘यस्तो हो भने हामीलाई राहत हुनेछ । उत्पादित दुध कहाँ लगेर बेच्ने भन्ने समस्या पनि हुँदैन,’ बर्दिवास–३ का किसान केदार घिमिरेले भने, ‘नगरको यो योजना सुनिसकेपछि निकै खुसी लागेको छ ।’

अहिले नगर क्षेत्रका डेरी व्यापारीहरू समेत दुध खोज्न सर्लाही, जनकपुरसम्म पुग्ने गरेका छन् । तर किसानहरूले बिक्री हुँदैन भन्ने गुनासो गरिरहेको बेला नगरले बनाएको यो योजनाबाट बर्दिवास दुधमा आत्मनिर्भर बन्ने दिशातर्फ अगाडि बढने व्यवसायीहरूको बुझाइ छ ।
‘प्रायः यहाँ ग्रामीण क्षेत्र छ, पशुपतिनगर, किसाननगर, बिजलपुरा, खयरमारा, पाटु, कालापानी लगायतका ठाँउका किसानहरूले घरघरमा भैँसी, गाई पालेका छन् । तर उनीहरू दुध बिक्री भएको छैन भन्छन् अनि हामीचाहिँ बाहिर दुध संकलन गर्न जानुपर्छ,’ अधिकांश व्यवसायीको एउटै भनाइ छ, ‘नगरले दुध संकलन गर्ने व्यवस्था गरेर डेरीलाई सम्पर्क ग¥यो भने हामी बाहिर नै जानु पर्दैनथ्यो ।’

२०७८ सालको जनगणनाअनुसार नगरमा ७४ हजार ३६१ जनसंख्या रहेको छ । यसमध्ये ८० प्रतिशत अझै कृषिमा आश्रित छन् । चुरे क्षेत्रका अधिकांश किसानहरूले भैँसी, गाईपालन गरेका छन् भने दक्षिणी क्षेत्रका गाउँहरूमा तरकारी र पशुपालन छ ।
१६ हजार ८२४ घरधुरी रहेको नगरमा झन्डै ६० प्रतिशतले घरमा गाई, भैँसी पालेको तथ्यांक छ । एक तथ्यांकअनुसार नगरमा लगभग २० हजार गाई, भैँसी पालिएको छ । कतिपयले फर्म नै दर्ता गरेर चलाएका छन् । पूर्वनगरप्रमुख विदुर कार्कीले दर्ता गरेर चलाएको फर्ममा मात्र ३२ वटा हरियाना जातका भैँसीपालन गरिएको छ । यसरी हेर्दा नगरमा मात्र १ लाख लिटर दैनिक दुध उत्पादन हुने देखिएको छ ।

पशु तथा भेटनरी शाखाका कर्मचारी मोहन खड्काका अनुसार अहिले प्रायः किसानहरूले उन्नत जातका भैँसी पालेका छन् । कतिपय भैँसीले दैनिक २० लिटरसम्म दुध दिने गरेको भेटिएको खड्का बताउँछन् । कार्यालयका अनुसार दैनिक उत्पादनको दर अझ बढ्न सक्ने अनुमान छ ।
तर डेरी व्यवसायीहरू नगरमा खपतका लागि ठुलो क्षमता नभएको कारणले पालिकाले लिएजस्तो उद्देश्य अहिले नै सम्भव नभएको बताउँछन् । यसका लागि नगरले बृहत् योजना बनाउनुपर्ने बताउँदै व्यवसायी विनोद खडका दैनिक उत्पादन हुने दुधलाई समेत स्टोर गर्ने ठाउँ नभएको बताउँदै बजारीकरणका लागि यति मात्र योजनाले नपुग्ने बताउँछन् ।




