
महोत्तरी - बर्दिबास अस्पतालका कर्मचारीको कमाउ धन्दाको थप रहस्य उजागर भएको छ । अस्पतालका कर्मचारीहरू नै अस्पताल अस्तव्यस्त बनाउँदै बाहिर कमाउ धन्दामा लागेको भन्दै सौर्य दैनिकले २०८१ पुस ११ गते समाचार प्रकाशन गरेको थियो । सो समाचार भ्रामक र गलत भएको भन्दै विज्ञप्ति निकालेरै कर्मचारीहरूले आपत्ति जनाएका थिए ।
त्यसपछि सोही समाचारलाई आधार बनाउँदै बर्दिबास नगरपालिकाले छानबिन समिति गठन गरेको थियो । सो समितिले सार्वजनिक गरेको प्रतिवेदनमै कर्मचारीहरूको बद्मासी पुष्टि भएको छ । योसँगै कर्मचारी र अस्पतालका आन्तरिक कमजोरीहरू उजागर भएका हुन् ।
सेवाग्राहीलाई औषधिको अभाव सिर्जना गरेर अस्पताल परिसर वरपर नै फार्मेसी र प्रयोगशाला निर्बाध सञ्चालन गरिरहेका अस्पतालका कर्मचारीहरूलाई प्रतिवेदन सार्वजनिक भएसँगै स्थानीय सरकारले कस्तो कारबाही गर्ला भन्ने विषयमा अहिले चासोमा छ ।
अस्पतालको फार्मेसी सेवा प्रवाह कमजोर हुनुमा विभिन्न कारणमध्ये कर्मचारी र बाहिरका फार्मेसीहरूको जालोले काम गरेको छानबिन समितिको निष्कर्ष छ । समस्याको सम्भावित संक्षिप्त कारणहरू प्रस्तुत गर्दै यस्तो डरलाग्दो जालोलाई छानबिन समितिले मानवीय त्रुटीका रूपमा राखेको छ । समितिले अस्पताल नजिक रहेका फार्मेसी तथा प्रयोगशालाको नियमित नगरपालिकाबाटै अनुगमन गर्नुपर्ने र कर्मचारीहरूको स्वार्थ बाझिने अवस्थामा तुरुन्त कारबाही गर्न सिफारिस गरेको छ ।
बर्दिबास नगरपालिकाका कर्मचारी दीपेश काफ्लेको संयोजकत्वमा तयार गरिएको उक्त प्रतिवेदनमा अस्पतालका कर्मचारीहरूको कहीँ न कहीँ स्वार्थ बाझिने अवस्था रहेको निष्कर्ष निकालिएको छ । जनप्रतिनिधिहरूले सेवा प्रवाहमा अग्रणी अस्पताल भएको दाबी गरिरहँदा प्रतिवेदनले भने त्यहाँको कमजोरी र सेवाग्राहीको असन्तुष्टिलाई एकसाथ सम्बोधन गरेको छ ।
स्थानीय सरकारले ५० शय्या बनाएर उत्कृष्ट काम गरिरहेको प्रचारबाजी गरिरहेका नगरपालिकाकै छानबिन समितिको प्रतिवेदनका सुझाव र निष्कर्षहरूले अस्पतालको बेथिति छर्लंग पारिदिएको हो । प्रतिवेदनमा ५० शय्या बनाएर नगरलाई आर्थिक भार थोपर्ने काम मात्र गरेको तर सेवा प्रवाह भने सन्तोषजनक नभएको उल्लेख गरिएको छ ।
छानबिन समितिका संयोजक दीपेश काफ्लेले अस्पतालका कमीकमजोरी पहिचान गरी सुधारका लागि स्थानीय सरकारलाई प्रतिवेदन हस्तान्तरण गरिएको बताए । विशेषज्ञ चिकित्सकबाट बिरामीको समस्या पहिचान गरेपछि सिफारिस गर्ने औषधि नभएको, नियमित रूपमा सेवन गर्नुपर्ने औषधि ३ महिनासम्म पुग्नुपर्ने भए पनि १ महिनाको मात्र भएको, स्वास्थ्य बिमामा १ हजार २८९ प्रकारका औषधि र ३५ प्रकारका सर्जिकल सामग्री उपलब्ध हुनुपर्ने व्यवस्था भए पनि दुवै समूहका ३५० प्रकारका औषधि मात्र मौज्दात रहेको जस्ता अन्नगन्ती समस्या प्रतिवेदनमा उल्लेख छ ।
छानबिन समितिले प्रशासनिक व्यवस्थापनसमेत चुस्त नभएको भन्दै प्रश्न उठाएको छ । अर्को महत्वपूर्ण विषय त के छ भने चिकित्सकहरूले सिफारिस गरेका औषधि अस्पतालमा नपाउने गरेको प्रतिवेदनमा उल्लेख छ । जसले चिकित्सकहरूतर्फ पनि आशंका उत्पन्न भएको छ । चिकित्सकले सिफारिस गरेका औषधि अस्पताल फार्मेसीमा नपाइने र बाहिरका निजी फार्मेसीमा सहजै पाइने प्रतिवेदनले आँैल्याएको छ ।
सामान्य किट तथा जाँच उपकरण नभएको, अस्पतालको दिगो व्यवस्थापन र आत्मनिर्भर बनाउन कुनै योजना नभएकाले अस्पतालकै कारण नगरमा आर्थिक भार परेको प्रतिवेदनको निष्कर्ष छ । सेवा प्रवाह गर्न कठिनाइ हुँदा अस्पताल स्तरोन्नतिका लागि ध्यान दिन समितिको सुझाव छ । समितिले आन्तरिक आय वृद्धि र दिगो व्यवस्थापनका लागि अस्पतालभित्रै सशुल्क फार्मेसी राख्नुपर्नेमा जोड दिएको छ ।
यता, नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले छानबिन समितिले पेस गरेको सुझावलाई मनन गरेर अगाडि बढ्ने बताएका छन् । कमजोरी भएका विषय सच्याउने र सेवाग्राहीको हितमा सदैव प्रतिबद्व रहने उनको भनाइ छ ।
यसअघि सौर्य दैनिकमा प्रकाशन भएको समाचारलाई गलत भएको व्याख्या गर्ने अस्पताल प्रशासनले समेत प्रतिवेदनमा आधारित भएर कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्वता जनाएको छ । बाहिरपट्टि औषधि पसल राखेर कमाउ धन्दा चलाउने कर्मचारीहरूमाथि पनि छानबिन प्रक्रिया अगाडि बढाउने प्रशासन प्रमुख मीनबहादुर सेनले बताए ।