जनकपुरधाम । बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थितिको समाधानका लागि जेन जी समूहका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीबीच वार्ता भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा शुक्रबार ३ घण्टा छलफल भएको हो ।
वार्तामा जेन जीहरूको सुरक्षा, घाइतेहरूको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने जस्ता तीनवटा विषयलाई समेटेर विज्ञप्ति निकाल्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएका छन् ।
जेन जी समूहका १५ प्रतिनिधि र जिल्ला सुरक्षा समितिका सम्पूर्ण पदाधिकारीको उपस्थिति भएको वार्तामा जेन जी समूहले कुटपिटमा संलग्न व्यक्तिमाथि निष्पक्ष र दबाबरहित कारबाही, घाइतेको निःशुल्क उपचार तथा उचित क्षतिपूर्ति, आफ्ना पक्षधरको सुरक्षाको ग्यारेन्टी, साथै सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाही तथा आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेका थिए ।

वार्तामा सहमागी जेन जी अगुवा सुदन गुरुङले भने, ‘गृहमन्त्रीको लाचारीपनका कारण सिमरा घटना भएको हो ।’
उनीहरूले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने र पक्राउ पर्न बाँकी रहेका आरोपितहरूलाई पक्राउ गर्ने दिन नै तोक्नुपर्न माग राखेका थिए ।
तर प्रजिअ मिश्रले सार्वजनिक रूपमा घुमिरहेका आरोपित व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गर्न निर्देशन भइसकेको र लुकेको अवस्थामा रहेकाहरूलाई पक्राउ गर्न दिन तोक्न उपयुक्त नहुने तर घटनामा संलग्न सबैलाई पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।

‘हामी प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता सुनेर ब्याक भएका छौं, लिखित सहमति गरिएको छैन,’ बाराका जेनजी संयोजक सम्राट उपाध्यायले भने ।
‘हामी प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता सुनेर ब्याक भएका छौं, लिखित सहमति गरिएको छैन,’ उपाध्यायले भने ।
शनिबार र आइतबार दुई दिन पर्खेर प्रशासनले सहमति कार्यान्वयनमा आलटाल गरे आन्दोलनका कार्यक्रम फेरि सार्वजनिक गर्ने उपाध्यायको भनाइ छ ।
‘हामी सोमबारसम्म हेर्छौं, उहाँहरूको प्रतिबद्धता कार्यान्वयन हुने देखिएन भने सडकबाटै न्याय माग्छौं,’ उपाध्यायले भने ।
प्रशासनसँगको छलफलपछि उपाध्यायले आफूहरूको आन्दोलन स्थगित मात्रै भएको बताए ।
‘हाम्रो आन्दोलन सकिएको होइन, स्थगित मात्रै भएको हो,’ उनले भने ।
बुधबारको घटनामा संलग्न सबैलाई कारबाही नभएसम्म आफूहरूको आन्दोलन नसकिने उपाध्यायको भनाइ छ ।
के–के छन् जेनजीका मागहरू ?
१. सुरक्षामा कमजोरी गर्ने बाराका एसपी सन्तोष तामाङसहित जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराका डीएसपीलाई कारबाही हुनुपर्ने ।
२. जेनजी प्रदर्शनकारी र प्रदर्शनमा सहयोग गर्ने सबैको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने ।
३. जेनजीलाई हातपात गर्ने सबैलाई हदैसम्मको कारबाही हुनुपर्ने ।
४. जेनजीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता अरविन्द साहको टेलिफोन रेकर्ड छानबिन हुनुपर्ने ।
५. राज्यको तर्फबाट घाइतेको निशुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्थापन हुनुपर्ने ।
६. सुरुको जाहेरीमा नाम उल्लेख नभएका एमालेका स्थानीय कार्यकर्ता नवराज बस्नेत र विशाल लामालाई पूरक जाहेरी लिएर नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने ।
जेनजीका ६ वटै मागमा प्रशासनले मौखिक सहमति जनाएको छ । जाहेरी परेदेखि फरार रहेका व्यक्तिहरूलाई कहिलेसम्म पक्राउ गर्ने भन्ने विषयमा प्रश्न उठेपछि बाराका प्रहरी प्रमुख सन्तोष तामाङले समय तोक्न नमिल्ने भन्दै यथासक्य चाँडो पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् ।
जेनजीलेपछि नाम दिएका व्यक्तिहरूको हकमा प्रहरीले पूरक जाहेरी लिने एसपी तामाङले बताएका छन् ।
घाइतेहरूको उपचार र क्षतिपूर्तिको विषयमा सीडीओ मिश्रले उपल्लो निकायमा समन्वय गरेर जानकारी गराउने बताएका छन् ।
सीडीओ मिश्रले भने, ‘जेनजीमाथि आक्रमण गर्न ६ जनाविरुद्ध उजुरी परेको छ । तीमध्ये ३ जना पक्राउ परिसकेका छन् । उहाँहरूले अझै ३ जना पक्राउ गर्नुपर्ने माग राखेका छन् । हामीले पनि घटनामा संलग्नहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जाहेर गरेका छौं । प्रशासनको प्रतिबद्धतापछि उहाँहरूले पनि आन्दोलनका कार्यक्रम स्थगित गर्नु भएको छ ।’
जेनजी युवाको सुरक्षाको सवालमा नागरिकको सुरक्षा गर्नु आफुहरूको कर्तव्य रहेको भन्दै सीडीओ र एसपी दुवै जनाले कसैले धम्की दिएमा आफूहरूलाई तत्काल खबर गर्न आग्रह गरेका छन् ।
प्रशासनसँगको छलफलमा जेनजी युवाहरू आफ्ना बारा संयोजक सम्राट उपाध्यायको नेतृत्वमा गएका थिए ।
पछि जनकपुरबाट आएका सुदन गुरुङ, पुरुषोत्तम यादव र मधेश प्रदेशका संयोजक शिव यादव पनि वार्तामा सहभागी भएका थिए । आन्दोलनरत पक्षबाट कपिल खरेल, आयुष न्यौपाने लगायतका युवाहरूको वार्ता टोलीमा सहभागिता थियो ।
बाराका प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेको प्रशासनको टोलीमा बारास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको थियो ।
बुधबार सिमरामा एमालेका नेताहरु सहभागी हुने कार्यक्रमको विरोधमा जुटेका जेन जी कार्यकर्तामाथि एमाले समर्थकसँग झडप भएपछि परिस्थिति उग्र बनेको थियो । घटनापछि जेन जी समूहले घटनास्थल आसपास निरन्तर प्रदर्शन गर्दै आएका थिए ।




