बर्दिबास : आहा ! महको स्वाद र मगमग सुगन्ध । औषधिका लागि होस् वा खाजाका लागि । मह मन नपराउने कमै होलान । त्यही मह उत्पादनले ४७ वर्षीय सुरेश बस्नेतको जीवनमा आर्थिक क्रान्ति ल्याइदिएको छ ।
मौरी पालनुअघि उनी २०६४ सालमा साउदी उडेका थिए । त्यहाँको दुःख र हन्डर खेप्न सकेनन् । ११ महिनामै स्वदेश फर्किए । अनि मौरी पालन थाले । उनले बार्षिक रुपमा अहिले लाखौं रुपैयाँ महबाटै कमाउँछन् । चितवनको खैरहनी नगरपालिका— ४ का सुरेश यतिखेर मौरीको घार लिएर महोत्तरीको बर्दिबास क्षेत्रका जंगलमा रमाइरहेका छन् । सागरनाथ वन विकास परियोजनको जंगल उनका लागि मुख्य गणतव्यस्थल बनेको छ ।



२०६४ सालमा सुरेशले पासपोर्ट बनाए । ऋण काढेर साउदी उडे । भनेका जस्तो काम पाएनन् । लोभ देखाएको जस्तो दाम भेटिएन । उनी विरोनो भूमिमा रोए । कान समाते । अनि स्वदेश फर्किए । उनी भन्छन्, ‘त्यहाँको दुःख देखेर कान समातेर अब कहिले जीन्दगीमा अर्काको देश नजाने भनेर घर फर्किएँ । पासपोर्ट सिरानीमुनी थन्काएर १२ घार मौरी पालन सुरु गरे । अहिले राम्रो आम्दानी मात्रै भएको छैन, सम्मान र इज्जत पनि मौरीले दिलायो ।’

उनका मामा अशोक बस्नेतले उनलाई मौरी पालनको सीप, शिक्षा दिएका थिए । जो अहिले बर्दिबासमा सँगै मौरीको घार लिएर आएका छन् । सानोमा छिमेकीले मौरी पालेको सुरेशले देखेका थिए । साइकल चलाएर कोसौं टाढा महको चाका खान जान्थे । अन्तमा बालपनमा चाखेको त्यही महको स्वादले उनलाई सफल मौरी पालक किसान बनायो । सुरेश भन्छन्, ‘स्वदेशमै मौरी पालेर मालामाल भएका छौं । अरु के चाहियो ।’
महोत्तरीको बर्दिबास शैक्षिक र व्यापारिक सहरको सम्भावना भएको स्थान मात्रै होइन्, मौरी पालक किसानकाहरुका लागि लोभलाग्दो स्थान बनेको छ । जुन तथ्य सुरेशको दैनिकीले प्रस्तुत गरिरहेको छ । चुरिया जंगलको काखमा उभिएको बर्दिबास र गौशाला क्षेत्र मौरी पालक किसानका लागि उर्वर स्थान मानिन्छ । यहाँका वनपाखाको वृक्षमा फूल लागेपछि मौरीको घार लिएर चितवानका किसानहरु फागुन पहिलो साता आउँछन् । यो क्रम १० वर्षदेखि चल्दै आएको छ ।
यहाँका प्राकृतिक वन छाँटाहरुको महत्वबारे यहाँका स्थानीय सरकार र किसानहरु अनभिज्ञ छन् । तर, चितवनका मौरी पालक किसानहरु १० वर्षदेखि यहाँ मौरी चराएर मह उत्पादन गरी दाम मात्रै होइन् नाम पनि कमाएका छन् । बैशाख महिनाको अन्तिम समयसम्म चितवनका सयौं किसानहरु महोत्तरी, सर्लाही रौतहटका वन क्षेत्रबाट करोडौं रुपैयाँको मह काढेर फर्किने तयारीमा रहेका छन् ।

सुरेशले मह उत्पादनका लागि बस्नेत बी फर्म नै स्थापना गरेका छन् । उनी महोत्तरीको बर्दिबास नगरपालिका-२ स्थित हङकङडाँडाको जंगल क्षेत्रमा मौरी घार राखेका छन् । सुरेशले यसैभूमिबाट मह उत्पादनको सफलताको कथा देशलाई सुनाइरहेका छन् । उनको प्रगति सुन्दै लोभलाग्दो छ । तर, उनी भन्छन्, ‘मौरीको टोकाई सहन सके मात्रै हजारको बिटा लिएर घर फर्किन सकिन्छ ।’
मौरीको घार कहाँ छ भनेर खोज्नु पर्दैन । महको मगमग सुगन्धले सुरेशको फर्मको बाटोमा डोर्याउँछ । महको बासनाले सुरेशको पौरखको कथा बोल्छ। वैदेशिक रोजगारीबाट रित्तै हात फर्किएको व्यथालाई बिर्साउँछ । सुगन्धले मोहित भएर उपभोक्ताले उत्पादन स्थलबाटै मह किन्ने गरेका छन् । देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सुरेशले सहिरहेका छन् असंख्यक मौरीको टोकाई अनि हावाहुन्डरी र असिनो चोट । जहाँबाट देशलाई सुरेशले सुनाइरहेका छन्,- गर्न सके देशमै आर्थिक क्रान्ति सम्भवना छ ।
‘फागुनको पहिलो साता रातभरी गाडीमा लोड गरेर मौरीको घार लिएर आएका थियौं । दुई लट मह काढिसके । अर्को एक लटको पर्खाइमा छौं । मौरी पालनका लागि गौशाला र बर्दिबासको वन क्षेत्र उत्कृष्ट स्थान हो । भीक्स (सपेता) को जंगल छ’, उनी भन्छन्, ‘सपेताको जंगलमा फूल लागेपछि हामी यहाँ मौरी लिएर आउने गर्छौं । तोरीको मह जम्छ तर, भीक्सको फूलबाट उत्पादित मह जम्दैन । बेच्न सजिलो हुन्छ ।’ दुई लटमा १० लाख बराबरको १८ क्विन्टल मह काढेको उनी सुनाउँछन् ।
उनका अनुसार प्याकेजिङ गरेर प्रतिकेजी ८ सयको दरले मह बिक्री हुन्छन् । होलसेल रेट करिब ६ सयको किलोमा बिक्री हुन्छ । उनी भन्छन्, ‘यसपालि मौसमले अभुतपूर्वरुपमा साथ दियो । भीक्सको बोटमा मनग्यै फूल लागेको थियो । ७ वर्षयताको सबै भन्दा राम्रो मह उत्पादन भयो । अब एक लट बैशाखा महिनाको अन्तिममा काढ्छौं । त्यसबाट ७ क्विन्टल मह आउँछ । त्यस्तै तीन लाखको मह काढेर अनि यो सिजन सकेर घर फर्किन्छौं।’
सुरेशका मामा ७६ वर्षीय अशोक बस्नेतको जीवन पनि मौरी पालनमा बितेको छ । उनले आफूले सिकेको सीप धेरैलाई सिकाएका छन् । उनले बर्दिबास नगरपालिका- ८ हात्तीलेटमा मौरीको घार चरनका लागि राखेका छन् । चितवनको कालिका नगरपालिका-७ उनी रागभ फर्म स्थापना गरेर मह उत्पदान गरिरहेका छन् । उनको १२५ घार मौरी छ । बर्दिबास क्षेत्रमा एक सय घार मौरी लिएर आएको उनी सुनाउँछन् । यो सिजनमा ८ क्विन्टल मह उत्पादन भएको उनी सुनाउँछन् ।

उनी भन्छन्, ‘महले हाम्रो जीवन फेरिदियो । पालन सहज छ । ७६ वर्षको उमेरमा पनि मौरीको घार लिएर हिडेको छु । छोराछोरी जस्तै मौरीको माया लाग्छन् । भन्नु के गरौं, दालभात, औषधि उपचार र घर परिवार मह बिक्री गरेर चल्छ ।’ पतन्जली, डाबर कम्पनीले उत्पादित मह खरिद गरेर लाने गरेको अशोक सुनाउँछन् । गाउँतिरकाले पनि खान मह किन्छन् । चितवन, पोखरा, काठमाडौंका शहरहरुमा महोत्तरीको महले बजार पाउने गरेको उनी बताउँछन् । २०५८ सालदेखि मौरी पाल्न सुरु गरेको अशोकलाई मौरी पालनको आम्दानीले लोभ्याएको छ ।

त्यसैगरी चितवनको खैरहनी नगरपालिका- ८ का ३५ वर्षीय युवराज कार्की पनि मौरी पालनमै रमाएका छन् । स्कूल पढ्दा पढ्दै उनले मौरीसँग मित लगाए । त्यसले उनलाई मालामाल बनाएको छ । उनीसँग १ सय घार मौरी छ । ७५ वटा घार लिएर उनी बर्दिबास आएका छन् । यो सिजनमा ७ क्विन्टल मह काढिसकेको सुनाए । उनी १० वर्षदेखि मौरी पालन गर्दै आएका छन् ।
नेपालमा चितवन जिल्लाका मौरी पालक किसानहरु व्यवसायी रुपमा मह उत्पादन गर्दै आएका छन् । सुरेश भन्छन्, ‘पहिला बाउबाजेले जहाँजहाँ घास हुन्थ्यो त्यहाँ गाईवस्तु लान्थे । अहिले जहाँजहाँ फूल लाग्छ त्यहाँ त्यहाँ मौरीको घार लाने हो । रमाइलो लाग्छ यो पेशा । दुई–चार दिन बाहिर गयो भने कहिले मौरी घार हेर्न जाउँ जस्तो लाग्छ ।’ वर्षको ७ महिना महको सिजन हुने गरेको उनी सुनाउँछन् ।-अन्नपूर्ण पोष्ट




