महोत्तरीमा विश्व वातावरण दिवस विविध जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। दिवसका अवसरमा डिभिजन वन कार्यालय महोत्तरीले वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ भने स्वास्थ्य निर्देशनालय मधेश प्रदेश र स्वास्थ्य कार्यालय महोत्तरीले प्रभातफेरी आयोजना गरेका छन्।
कार्यक्रममार्फत वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने सन्देश प्रवाह गरिएको छ।
डिभिजन वन कार्यालय जलेश्वरको आयोजनामा जलेश्वर नगरपालिका–९, प्रकौलीस्थित श्री जानकी परीक्षण माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
डिभिजन वन अधिकृत अजयकुमार मिश्रको नेतृत्वमा सम्पन्न कार्यक्रममा प्रकौलीस्थित गोरखनाथ गण, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। गोरखनाथ गण प्रकौलीका नेपाली सेनाको टोलीले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो।



कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षरोपणको महत्त्वबारे चर्चा गरेका थिए। सो अवसरमा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्।
यसैगरी, स्वास्थ्य निर्देशनालय मधेश प्रदेश, सपही (धनुषा) र स्वास्थ्य कार्यालय महोत्तरीको संयुक्त आयोजनामा जलेश्वरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित आयोजित प्रभातफेरीमा स्वास्थ्यकर्मी, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रभातफेरीको नेतृत्व स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोजचन्द्र न्यौपानेले गर्नुभएको थियो।
दिवसका अवसरमा आयोजित कार्यक्रमहरूले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा जलवायु परिवर्तनप्रति जनचेतना विस्तार गर्न महत्त्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन्।

त्यसैगरी, विश्व वातावरण दिवस २०८३ का अवसरमा बर्दिवास नगरपालिका–१ स्थित रातु ठाकुर मोक्षधाम परिसरमा पनि वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।





