काठमाण्डौं।स्थानीय तह निर्वाचन ४ जेठमै हुने सहमति बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा बसेको बैठकमा आयोगका पदाधिकारीहरूले एकै चरणमा ४ जेठमा निर्वाचन गर्न सुझाव दिएका थिए। उनीहरूले चाडैं मिति तोक्न पनि सुझाएका थिए।
जवाफमा प्रधानमन्त्रीले छिट्टै मन्त्रिपरिषद्बाट निर्वाचन मिति घोषणा गरिने आश्वासन दिएको आयोगका एक पदाधिकारीले बताए। आयोगले विज्ञप्ति जारी गर्दै ४ जेठमा निर्वाचन गर्न प्रधानमन्त्रीसँग परामर्श दिइएको पुष्टि गरेको छ।
‘‘निर्वाचन आयोगले आज सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई भेटी २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गतेगरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको पदावधि नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६), धारा २२० को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवंम् कानूनी दायित्व रहेकाले २०७९ जेठ ४ गते बुधबारका दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरी निर्वाचनको मिति तोक्न परामर्श दिएको छ,’’ विज्ञप्तिमा उल्लेख छ।




