
काठमाडौँ — ओपनर कुशल भुर्तेलले शानदार शतक प्रहार गरेपछि नेपालले विश्वकप लिग-२ मा नामिबियामाथि २ विकेटको रबाफिलो विजय हात पारेको छ । भुर्तेलले १ सय १५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गरेको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो विजय लक्ष्य रन पार गरेको हो ।
भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाउने क्रममा १ सय १३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । भुर्तेलले कप्तान रोहित पौडेलसँग जोडेको १ सय २४ रनको ठोस साझेदारी नेपालको विजयको आधार बन्यो । नेपालले लिग-२ मा नामिबियालाई पराजित गरेको पहिलो पटक हो ।
यस विजयपछि नेपालले एकदिवसीय मान्यता जोगाई राख्ने आशालाई कायमै राखेको छ । नेपालले अब लिग-२ मा आफ्नो बाँकी रहेको ११ मध्येको ८ खेल जित्नु पर्नेछ । नेपाल २५ खेलमा २० अंकका साथ सात राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकाको छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
दोस्रो ओभरमै आसिफ शेख शून्यमा बोल्ड भए पनि नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्यो । ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाए । रोहितले कप्तानी इनिङ्स खेले । उनले ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ७२ रन बनाए । कुशल मल्ल ६, दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए ।
भुर्तेलले सन्दीप जोरासँग ४९ रनको साझेदारी गरे । ४ वर्षयता एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल खेलिरहेका जोराले २४ बल खेल्दै ३ चौका र १ छक्कासहित २८ रन बनाए । करण १२ बलमा २० रन बनाई अविजित रहे । सन्दीप लामिछाने पहिलो बलमै आउट भए । सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरे । नामिबियाका रुबेन ट्रमपेलमानले १० ओभरमा ४८ रन खर्चेर तीन विकेट लिए ।
यसअघि माइकल भान लिङगेनको सानदार सतकमा टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित ५० ओभर पूरा खेली २ सय ८५ रनमा अलआउट भएको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लिङगेनले १ सय ३३ रन बनाए । लिङगेनले लगातार दोस्रो शतक बनाएका हुन् । डिसेम्बरमा उनले नेपालविरुद्ध नामिबियाको विन्डहोकमा १ सय २१ रन बनाएका थिए । उनले १ सय ३७ बलको इनिङ्समा ९ चौका र ५ छक्का प्रहार गरे ।
लिङगेनलाई करण केसीको बलमा दीपेन्द्रले मिडविकेटमा क्याच लिए । उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो भने नामिबियाली ब्याटरको दोस्रो उच्च स्कोर हो । जिन पिइरे कोएट्जेले २०१९ को सेप्टेम्बरमा अमेरिकाविरुद्ध १ सय ३६ रन बनाएका थिए ।
लिङगेनले कप्तान गेर्हार्ड इरास्मससँग तेस्रो विकेटमा १ सय २४ रनको ठोस साझेदारी गरे । आईसीसी एसोसिएट वर्ष खेलाडी इरास्मसको २१ रनमा रोहितले क्याच छाड्नु नेपालका महँगो पर्यो । इरास्मसले ७९ बल खेली २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए ।
लो हेन्ड्रे लवरेन्स नामिबियाबाट आउट हुने पहिलो खेलाडी थिए । उनलाई तेस्रो ओभरमा सोमपाल कामीले ५ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले अर्का ओपनर कार्ल बिर्केनस्टकलाई १३ रनमा बोल्ड गरे । त्यसपछि लिङगेन र इरस्मसको जोडि जमेको थियो ।
करण केसीको पहिलो शिकार जेएन लोफ्टी इटन थिए । इटन ८ रन बनाई ज्ञानेन्द्र मल्लबाट सानदार क्याच भए । जान फ्रालिन्कलाई करणले १३ रनमा बोल्ड गरे । पिकी या फ्रान्सले २ रनमात्र बनाए । जेन ग्रिनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरि ३४ रन बनाए । नेपालबाट करणले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर ५ र सन्दीपले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए ।