जनकपुरधाम- प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी २ मन्त्री सहित सहभागि हुने भएको छ । पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।
नेकपा एसले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा) लाई मन्त्री बनाउने निणर्य गरेको पार्टीका प्रदेश इन्चार्ज धर्मनाथ साहले जानकारी दिए ।
मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई दुई दिनअघि मात्र पदमुक्त गरेका थिए ।
एकीकृत समाजवादीलाई उद्योग, पर्यटन, वन तथा वातावरण सहित मुख्यमन्त्री राउतले आफ्नो मातहतमा राखेको कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिने सरकारको तयारी छ ।
एकीकृत समाजवादीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी प्रमोद यादवलाई दिन लागेको बताइएको छ।
मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफ्नै मातहतमा राखेका थिए । तत्कालीन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई हटाएपछि राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्र्याएर १० मन्त्रालय बनाएका थिए ।
यसअघिदेखि नै सरकारमा जाने भने पनि मन्त्रालय भागबण्डा नटुंगिदा नेकपा एस सरकारमा सहभागिताको अन्योल बनि रहेको थियो ।
मंसिर ५ गते आइतबार दिउँसो २ बजे नयाँ मन्त्रीको सपथग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनाएको छ।