धनुषा- जनकपुरधाम उपमहानगरपालिकाका वडा १७ र १८ का महिला किसानहरुलाई जेन्डर तथा महिला सशक्तिकरण सम्बन्धी क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम प्रदान गरिएको छ।
यूके एड र युरोपियन युनियनको सहयोगमा राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजना तथा भीएसओ को प्राविधिक सहयोगमा प्रयास परियोजना अन्तर्गत गठन गरिएको समूहका महिला किसानहरुलाई शसक्तिकरणको लागि तालिम प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रयास परियोजना अन्तर्गत वातावरणीय कृषि प्रणाली लागु भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ मा रहेको हरियाली बजार तथा तरकारी कृषक समूह र जयभोले कृषक समूह तथा वडा नं. १८ मा रहेका श्रीराम तरकारी उत्पादक समूह र भोलेश्वर कृषक समूहमा आवद्ध ३५ जना महिला किसानहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ माघ २२ र २३ गते २ दिने क्षमता अभिवृद्धि तालिम संचालन गरिएको हो ।
मुख्य प्रशिक्षक अजय साह, सहायक प्रशिक्षक लक्ष्मी परियार र राष्ट्रिय कृषक समूह महासंघ नेपालका सचिव राम हरि शर्माले सहजीकरण गरेका उक्त तालिममा लिंग र लैंगिक, समता र समानता, स्थानीय स्तरका देखिएका महिलाहरुको समस्या, चुनौती र समाधानका उपायहरु बारे जानकारी गराइएको थियो ।
साथै तालिममा बाल विवाह, घरेलु तथा महिला हिंसा सम्बन्धी जनचेतना प्रदान गर्नुको साथै न्युनिकरणका उपायहरु सिकाउनुको साथै समुहलाई सबल र स्वाबलम्बी बनाउने टिप्सहरु बारे प्रशिक्षक दिइएको मुख्य प्रशिक्षक साहले जनाए ।
समूहको उन्नती र प्रगतीको लागि महासंघले आवश्यक पर्ने विउ, सिप र महिला मैत्री कृषि औजार समेत उपलब्ध गराउने कुरा कृषक समूहका धनुषा अध्यक्ष दिपक कुमार ठाकुरले जनाए ।
महासंघले साना किसान, महिला किसान, भुमिहिन र पछाडी पारिए का वर्गका किसानहरुलाई ध्यानमा राखी कार्यक्रम आयोजना गरिने पनि जानकारी सचिव शर्माले जानकारी दिए।
कार्यक्रममा भिएसओका प्रतिनिधि अंकिता नेपाल र महासंघका अभियन्ता सुमन झाको समेत उपस्थिती रहेको थियो ।




