विष्णु गुप्ता। जलेश्वर , महोत्तरी। राजनितिमा युवाहरु को प्रयोग कसरी भईरहेको छ यसको व्यवहारिक उदाहरण माथि छलफल गर्ने हो भने हामी चिन्तित हुनुपर्ने अवस्थामा पुग्छौ । भ्रम र प्रयोग को उचित संतुलन कायम राखी वर्षौ देखि युवावर्ग लाई विभिन्न संगठनहरुले आफनो राजनैतिक हतियार को रुपमा संचालित राख्दै आएको आरोप लगाउनु अनौठो देखिएन ।
वास्तवमा युवावर्ग यति सहज ठंगले प्रयोग भईरहने अवस्था माथि पनि गहन छलफल हुनुपर्ने उतिकै आवश्यक छ ।युवा उर्जा र जोशले फलाम जस्तै कडा त हुन्छन तर आत्मबल बाट अलिक अपरिपक्व जसकारण तातिएको फलाम लाई विभिन्न प्रलोभन मा पारि आफनो आवश्यकता अनुसारको रुप दिएर उपयोग गर्ने कला मा निपुण रहेका संगठनहरु सहजता का साथ फलदायक प्रयोग को स्वाद लिन सफल हुँदै आईरहेका छन । बेरोजगारी को पिडा र विलाशिता प्रतिको आकर्षण प्रयोगमा पर्नुको मुख्य कारणहरु मध्य रहेको मेरो बुझाई छ । चाहना पुर्ति गर्ने बाटो नभेटाईरहेको बेला निराश हुनु स्वभाविक हो र यही निराशा बाट आजित भएर अधिकांश युवाहरु दिशाहिन भई परिस्थितिले पसकेको क्षण लाई नै सत्य मानि सहि गलत छुटाउन असमर्थ हुनपुग्छन । भय र लोभका कारण युवाहरुलाई बाध्य बनाई असमाजिक क्रियाक्लाप गर्न लगाउन्छन र संरक्षण पनि गर्छन पछि मञ्चमा युवा देशको कर्णधार हुन,युवा को समस्या समाधन गर्ने भाषन दिने गर्छन । मुलरुप मा भन्ने हो भने बाहिरबाट आफुलाई हिरो देखाउन खोज्ने तर असलमा भुमिका विलेन को र्निवाह गर्ने ।



लागुऔषधी सेवन र विक्रि वितरण,अपराधिक घटनाहरुमा युवा को संग्लता रहेको दिनहु सुन्न पाईन्छ तर एउटा जिम्मेवार पद युवा नेतृत्व लाई दिईएको खबर विरलै भेट्ने गर्छ अनि कसरी नभन्ने कि राजनितिमा युवा को प्रयोग आफ्नो स्वार्थ पूर्तिका लागी मात्रै हुनेगर्छ । जुलुश,रयाली निकाल्न,नारा लगाउन,झण्डा बोक्न,आन्दोलन चरकाउन यि सव कार्यमा बखुबी युवा को प्रयोग भएको छ र हुँदै आईरहेको छ । तर चुनाव आउँदा युवा उम्मिदवार ले अवसर पाउँदैन,दल भित्र पनि युवालाई कुनै खासै महत्व भेटिदैन । संयोगवस युवाले जिम्मेवारी पायो भनेर सुन्नु भएहोला भने अलि वास्तविकता बुझे पश्चात मात्र विश्वास गर्नुहोला किनकि त्यो क्षणिक वा कसैको आसेपासे पनि हुन सक्छन । वास्तवमा भन्ने हो भने राजनैतिक प्रयोग बाट अछुतो रहेको कुनै पनि वर्ग छैन तर युवा का निम्ति गम्भिर र सजग हुनु आवश्यक यसकारण पनि छ कि अहिले विश्व को विकाश गतिमा युवा सक्रियताकै अहम भुमिका देखिएको छ ।
शिक्षा,विज्ञान,प्रविधि,कला र संस्कुति लाई संरक्षण का साथ–साथ त्यसमा आधुनिकरण गर्दै परिवर्तन ल्याउने कला र क्षमताले युवा भरिपूर्ण छन । मौसम परिवर्तन भएजस्तै सत्ता फेरिने राजनैतिक व्यवहारमा निति निमार्ण र कार्यन्वयन लाई समानान्तर राख्न सकेको सफल उदाहरण अहिले सम्म अनुभव भएको छैन त्यसकारण सामाजिक स्तर बाटै युवा बिच कुशल मार्गदर्शन फैलाउन अभ्यास गर्नु पर्छ । युवा अवस्था लाई सही मार्गदर्शन को खाँचोले यस्ता परिस्थितिमा पुरयाएको कतिपय विज्ञहरुको विचारले पुष्टि गर्छ तर ति विचारहरु माथि समिक्षा र उचित रणनिति बनाउने निकाय उदासिन छन । अहिलेको उन्नतिशील विश्वमा शिक्षाको अहम भुमिका छ जसले कुनैपनि समाज वा राष्ट्रको उन्नतिमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ ।
तर अहिले को अभ्यासरत प्रवृति हेर्दा राष्ट्र विकास का लागी संभावना ले भरिएको युवालाई प्रयोगयात्मक राजनितिले सिमित गर्दै आएको मेरो निष्कर्ष छ त्यसकारण विधालय स्तरबाटै अध्यापनमा मात्र सिमित नराखि उचित मार्गदर्शन, मजबुत मनोबल सहित व्यक्तित्व विकास जस्ता शिपमुलक र प्रतिस्पर्धात्मक क्षमता निमार्णका लागी पनि कदम चाल्ने हो भने युवामा निर्णय लिने क्षमता र सहि गलत छुटाउन सक्ने शिपको निर्माण हुने प्रबल संमभावना छ जसले यस जोशिला वर्गलाई भ्रममा पर्न बाट जोगाउन्छ । कुनै पनि राष्ट्रको दुर्त गतिको विकाश का लागी युवा मेरुदण्ड रहेको विश्वभरी भएको थुप्रै अनुसन्धान ले देखाएको छ भने कैयौ राष्ट्र युवा सक्रियता को फलदायक अनुभवले पनि फडको मारेको छ ।
युवा भित्र शिक्षा,सक्रियता,उर्जा,उत्साह र लगनशीलता भरिपुर्ण हुन्छ । देश को विकासमा अप्रत्याशित सकारात्मक परिवर्तन को लागी युवा ईंन्धन स्वरुप प्रयत्नशिल छन र गरेका पनि हुन । युवा बिच एकता र दृढ संकल्प हुनु आवश्यक छ ।




