जनकपुरधाम- सीके राउतको नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सिरहामा एक तेल ट्यांकरमा तोडफोड गरेका छन् ।
बिहीबार सिरहाको पूर्व-पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहे राउतका कार्यकताहरूले नरहा गाउँपालिका ३ नयाँ चाेहर्वामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड गरेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसाहरू फुटेको प्रहरीले जनाएको छ ।
जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीहरूको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार पनि घाइते भएका छन् । जनमत पार्टीका कार्यकर्ताको ढुंगा प्रहारबाट प्रहरी हवल्दार लालबाबु अन्सारीको दाहिने खुट्टामा गम्भीर चोट लागेको जनाइएको छ। सिराहामा उनको उपचार भइरहेको छ।
ढुंगामुढा गर्ने १३ जना कार्यकर्तालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाले जानकारी दिए । किसान आन्दोलनको नाममा गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषा लगायतका जिल्लामा सामन्य प्रभाव परेको छ ।