ढल्केवर- छठ पर्वको विषय लिएर बारामा हिन्दू र मुस्लिम बिच भएको झडपमा परि मृत्यु भएको राधेश्याम पटेललाई उचित क्षतिपूर्ति सहित धार्मिक सहिद घोषणा गर्न विश्व हिन्दु परिषद् नेपालले मधेस प्रदेशको मुख्यमन्त्री लालबाबु राउतलाई आज ज्ञापन पत्र बुझाएको छ।
छठ पर्वको विषयमा गत कार्तिक २५ गते मधेस प्रदेशको बाराको कलैया उपमहानगरपालिका वार्ड नं-११ इनरवारी मा छठ पर्व मनाउने क्रममा हिन्दू भक्तजनहरु र स्थानीय मुस्लमान युवाहरु बीच विवाद भई झडप हुँदा स्थानीय १८ वर्षिय राधेश्याम पटेललाई मुस्लिम युवाहरुले गरेको कुटपिट गरेका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारको क्रममा अस्पतालमा पुस २१ गते निधन भएको थियो।
पटेलको निधन मुस्लिम युवाहरुको प्रहारबाट भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराबाट आवश्यक अनुसन्धान कारवाही भैरहेको भए पनि घटनाले धार्मिक भावना बिथोल्न गएको हुँदा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल को संयोजकत्वमा माघ १० गतेका दिन पीडित पक्ष राजनितिक दलका प्रतिनिधि, स्थानीय संचारकर्मीको उपस्थितिमा छलफल गर्दा मृतक पटेलको परिवारलाई क्षतिपूर्ति दिने र धार्मिक सहिद घोषणा गर्ने लगायतका सहमति भएर कार्यान्वयन सम्बन्धमा जिल्ला प्रमुख अधिकारीले पत्र गृह मन्त्रालयमा पठाइसकेको भएपनि हालसम्म सो कार्यन्वयन हुन सकेकाे अवस्था छैन ।
विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय महासचिव जितेन्द्र प्रसाद सिंह को हस्ताक्षरित ज्ञापन पत्रमा सहमति अनुसार पटेललाई यथाशीघ्र धार्मिक सहिद घोषणा गरी निजको परिवारलाई क्षतिपूर्ति दिई दोषी उपर कडा भन्दा कडा कारबाही गर्न मधेस प्रदेश सरकार सँग विश्व हिन्दु परिषद् नेपालले जोडदार माग गरेको उल्लेख गरिएको छ।