जनकपुरधाम- महोत्तरीमा रेल्वे मुआब्जा वितरण प्रक्रिया सुरु हुने भएको छ।
२०७२ साल देखि नै रेल्वेले अधिग्रहण गरेका वर्दिवासका किसानहरुको जग्गाको मुआब्जाको रेट निर्धारण प्रचलित मुल्यमा नभएको भन्दै रेल्वे मुआब्जा पिडीतहरूले पटक पटक गरेको आन्दोलनका कारण रेल्वे निर्माण समेत रोक्किएर रहेको अवस्था थियो भने मुआब्जा बितरण प्रक्रिया समेत ढिला भएकोमा अब मुआब्जा वितरण सुरु हुने बताइएको छ।
बर्दिबास नगरपालिकामा मात्र रेल्वे स्टेसन बनाउन ५८ बिघा जग्गा सरकारले अधिग्रहण गरेको छ भने उक्त जग्गाको उचित मूल्य निर्धारण हुन नसक्दा करिब १५० परिवार आन्दोलित बनेका थिए ।
मुआब्जा निर्धारण समितिका संयोजक समेत रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले सम्भवतःः किसाननगर र भंगाहामा आउँदो आइतबार -सोमबार देखि मुआब्जा बितरण गरिने कार्यक्रम रहेको जानकारी दिए ।
रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरूले बर्दिबास लगायत भंगाहा, किसाननगर क्षेत्रमा मुआब्जाको विषयलाई लिएर रेल्वे स्टेसन तथा रेल्वे नै बनाउन नदिने तयारी भइरहेको आरोप लागिरहेको बेला मुआब्जा वितरण प्रक्रिया सुरु हुन लागेको हो ।
मुआब्जा निर्धारण समितिले न्यूनतम ७ लाखदेखि ८१ लाखसम्म मूल्य निर्धारण गरेको छ । चित्त नबुझ्ने जग्गा धनिले व्यक्तिग रुपमा निवेदन दिन पाउने व्यवस्थासँगै धेरैजसोले निर्धारित मुआब्जा लिनेमा सहमत भएपछि मुआब्जा वितरण प्रक्रियालाई अगाडि बढाइएको मुआब्जा निर्धारण समितिले जनाएको छ ।
सात वर्ष अगाडि अर्थात सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारत सरकार कै लगानीमा जयनगर-जनकपुर-बर्दिबास खण्डमा ब्रोडजेग रेल्वेको पूर्वधार निर्माणको काम थालिएको थियो। दुई वर्ष अगाडि नै सकिनुपर्ने समयसीमा भए पनि कहिले मुआब्जा विवाद त कहिले आन्दोलन जस्ता विषयहरूले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।
रेल्वे स्टेसनदेखि लिक बनाउन समेत अहिलेसम्म मुआब्जा नै अल्झि रहँदा जयनगर-जनकपुर-बर्दिबास खण्डमा चल्ने भनिएको ब्रोडजेग रेल्वे अझै अन्योलमा छ । तर मुआब्जा निर्धारण समितिले तुरुन्त मुआब्जाको बिषय टुंग्याएर पुर्वाधार निर्माण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।