
ढल्केवर : धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल तथा पौष्टिक आहार वितरण गरिएको छ ।
मौसम बदलीसँगै दुईदिनदेखि तराई–मधेशमा तीव्र गतिमा चलेको हावाहुरीसँगै बढेको जाडोबाट बच्न ढल्केवर एकसय जना ज्येष्ठ नागरिकलाई मिथिला युवा संजाल ढल्केवरले न्यानो कम्बल वितरण गरेको हो ।
मिथिला नगरपालिका वडा नं ६ को वडा कार्यालयको आर्थिक सहयोग तथा समन्वयमा ज्येष्ठ नागरिकलाई प्रति व्यक्ति एक थान फाइवर कम्बल र एक केजी हर्लिक्स वितरण गरेर सम्मान गरिएको मिथिला युवा संजालका उपाध्यक्ष विवेक कुमार ठाकुरले जानकारी दिए । उनका अनुसार वडाअध्यक्ष भक्तबहादुर बलम्पाकीको विशेष उपस्थितीमा उक्त सामाग्री वितरण गरिएको हो ।
केहिसमय अघि मात्रै गठन भएको युवा संजालले समाजिक कार्यमा आफ्नो सक्रियता बढाएको छ । स्थापनाकालको छोटो समयमै युवा संजालले चौतर्फी प्रशंसा बटुलिरहेका छन् ।
यसअघि संजालले मिथिला नगरपालिका वडा नं ५ र ७ का विपन्न तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको थियो । त्यसअघि युवाहरुले एक असहाय परिवारलाई छोरी विवाहको लागि आर्थिक सहयोग गरेको थियो ।