जनकपुरधाम- मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पुनः विश्वासको मत लिँदै छन् । पदभार सम्हालेको डेढ वर्षको अवधिमा उनले यो पाँचौ पटक विश्वासको मत लिदै छन्। पछिल्लो पटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सरकारबाट बाहिरिएर दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिन लाग्नु परेको हाे ।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बुधबार दिउँसो ३ बजे विश्वासको मत लिने भनेर प्रदेश सभाले सूचना जारी गरिसकेको प्रदेश सभाका सूचना अधिकारी कानुन अधिकृत चन्दनकुमार ठाकुरले जानकारी दिए।
२०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।
मुख्यमन्त्री यादवले तेस्रो पटक २०८० फागुन ६ गते विश्वासको मत लिएका थिए । त्यसबेला विश्वास मत प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा ३५ मत परेको थियो । पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए । विपक्षमा भने नेकपा एमाले र जनमत पार्टीले मतदान गरेको थियो ।
सत्ता साझेदारी नेपाली कांग्रेस बाहिरिएपछि गत २०८० चैत ९ गते विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री यादव वैशाख ४ गते चौथो पटक विश्वासको मत लिएका थिए । त्यसबेला एमाले, जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए ।
चारै पटक सत्ता गठबन्धनमा फेरबदल आएपछि उनले विश्वासको मत लिनुपरेको थियो । तर सरकारको नेतृत्वमा कुनै परिवर्तन भएन । यादवले दुई पटकसम्म सबै सांसद, दलको विश्वासको मत प्राप्त गरे भने तेस्रो पटक नेकपा (एमाले) र जनमत पार्टीको विश्वासको मत पाएनन् भने चौथो पटक नेपाली कांग्रेस, जनमत, लोकतान्त्रिक समाजवादी पार्टीको मत पाएनन् ।
यसपटक भने सरकारको पक्षमा अहिलेसम्म नेपाली काँग्रेसले विश्वासको मत दिने निर्णय गरे संगै ४१ सांसद मुख्यमन्त्रीको पक्षमा देखिन्छन् । यस अवस्थामा पाँचौ पटकमा मुख्यमन्त्री यादव नेतृत्वको सरकार जोगाउन उनलाई कठिन पर्ने देखिन्छ ।
मंगलवार नै मुख्यमन्त्री यादवलाई नेपाली काँग्रेसले नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेकाे छ भने मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ।
नेपाली काँग्रेस पार्टीको मधेस प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
संसदीय दलका प्रमुख कृष्ण यादवले डाकेको बैठकले बुधबार मुख्यमन्त्री यादवले लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय भएको एक सांसदले बताए ।
मधेस प्रदेश सभामा कांग्रेसका २२ जना सदस्य छन् । जसपासँग कांग्रेस उभिएपछि मुख्यमन्त्री यादवको पक्षमा ४१ सांसद देखिएका छन् ।
यसैबीच मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ।
मधेसमा एकीकृत समाजवादीका दुई जना मन्त्रीहरूले मंगलबार पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका छन्।
जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन्।
मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्र सहित तीन दलले लिखित सहमति गरेका थिए।
यद्यपि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो।
एमाले सहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ।