काठमाण्डौं : सीके राउत नेतृत्वकाे जनमत पार्टीले मधेसमा किसान आन्दाेलन गरिरहेकाे छ । किसान आन्दोलनका मुद्दा जायज भए पनि जनमत पार्टीको आन्दाेलन भने शान्तिपूर्ण छैन । सिराहा गोलबजारका स्थानीय रामेश्वरप्रसाद साह भन्छन्, ‘किसान आन्दोलनका मागहरू राम्रा छन् । तर, जाइलाग्ने प्रवृत्ति उचित छैन ।’
किसान आन्दोलन जनमत पार्टका लागि देखाउने दाँत मात्रै भएकाे उनकाे आराेप छ । ‘किसानको नाममा राउतका कार्यकर्ताले जबर्जस्ती मल लिएर गएका थिए । मल चोर्नेलाई प्रहरीले समात्यो । उनीहरूलाई छुटाउन किसान आन्दोलन भनियाे’, उनले भने ।



भ्रष्टाचारका नाममा विरोध र किसान आन्दोलन चर्काएर राउतले आगामी निर्वाचनका लागि आफ्नाे पार्टीकाे पक्षमा माहौल मात्रै सिर्जना गर्न खोजेकाे देखिएकाे मधेस मामिलाका कतिपय जानकारहरू बताउँछन् ।
कस्ताे छ संगठन ?
पृथकतावादी गतिविधि त्याग्दै सरकारसँग ११ बुँदे सम्झौतासहित राउत मूलधारकाे राजनीतिमा आएका थिए । त्यसपछि १५ वैशाखमा उनले जनमत पार्टी दर्ता गरे । १४ जनाको केन्द्रीय कार्यकारिणी समिति, ५६ जनाकाे केन्द्रीय समिति, ५–९ जना जिल्ला कार्यसमिति तथा गाउँपालिका र नगरपालिका कार्यसमिति रहने व्यवस्था पार्टीको विधानमा उल्लेख छ ।
त्यस्तै, पार्टीले भ्रातृ संगठनमा इन्जिनियर जनमत संघ, विद्यार्थी जनमत संघ, शिक्षक जनमत संघसहित प्रेस जनमत संघ गठन गरेको छ । पार्टीले हरेक गतिविधि सञ्चालनका लागि केन्द्रीय कार्यकारिणी समितिलाई अधिकार दिएको उपाध्यक्ष नरेन्द्र चौधरी बताउँछन् । २० जिल्लामा फैलिएको जनमत पार्टीले अहिले स्थानीय निर्वाचनको तयारी गरिरहेकाे उनले बताए ।
स्थानीय चुनावलाई केन्द्रीत गर्दै मधेसका आठ जिल्लामा प्रशिक्षण कार्यक्रम चलाइरहेकाे उनले जानकारी दिए । चौधरी भन्छन, ‘जनताको साथ र सहयोग पार्टीलाई प्राप्त भइरहेकाे छ । जनताको मुद्दामा जनताले नै नेतृत्व लिने भएकाले पनि पार्टीको नाम र संरचना जनतासँगै जोडेर राखेका हौँ ।’
मूलधारकाे राजनीति सुरु गरेसँगै राउतले पार्टीको वैचारिकताबारे छलफल चलाएका थिए । राउतले छलफलबाट वैचारिक आधार स्तम्भ भन्दै ‘सामुदायिक स्वराज’ भने । जसमा राउतले लोकतान्त्रिक प्रक्रियाबाट आएका जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी नरहेको र यो प्रक्रिया निराधार भएको भन्दै समुदायलाई स्वराज बनाउने बताएका थिए ।
किसान आन्दाेलनसँगै जनमत पार्टीले सरकारी कर्मचारीहरूमाथि पनि जनकारबाही अभियान चलाइरहेकाे छ । निजामती कर्मचारीलाई जनकारबाहीका नाममा नगर परिक्रमा गराइएपछि पार्टीकाे आलाेचना भइरहेकाे छ । तर, उपाध्यक्ष चाैधरी यसलाई जायज भन्छन् । ‘हामीले लोकतन्त्र भनेको हो । विधिको शासनमै खोट देखिएकाले पार्टीकाे जनकारबाही जायज छ ।’
जनमत पार्टीकाे यस्ताे गतिविधिले जनता र कर्मचारीमा त्रास उत्पन्न भएको बताउँछिन् जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर तथा लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ रिता झा । उनी भन्छिन्, ‘देशमा कानुनी शासन छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’ ‘सरकारले नागरिकका लागि हरेक काम गरेको छ । कतै कमजाेरी भए जनताले मूल्याङ्कन गर्ने हो । कुनै पार्टीले गर्ने होइन’, उनले भनिन् ।
‘स्वतन्त्र मधेस’ अभियान चलाएर चर्चामा उदायका राउतसँग मधेसकाे युवापुस्ताकाे आकर्षण छ । अन्य पार्टी त्यागेर उनी नेतृत्वकाे जनमत पार्टी प्रवेश गर्नेहरूकाे पनि कमी छैन । ‘सबै पार्टीलाई हेरियो, जनताको कुराभन्दा पनि पैसा र पदका लागि राजनीति गर्नेहरू छन्’, तत्कालीन सद्भावना पार्टीमा रहेर काम गरेका नेता कोमल यादवले भने, ‘राउतकाे विचार ठिक लागेर अहिले याे पार्टीमा लागेकाे छु ।’
पार्टीका केन्द्रीय सदस्य महोत्तरीकै वीरेन्द्र महतो भन्छन्, ‘हामी जनताका मुद्दा लिएर राजनीतिमा हाेमिएका छाैँ । किसान आन्दोलनले पार्टीलाई बलियाे बनाएकाे छ ।’ सलार्ही जिल्ला अध्यक्ष जवाहर यादव भन्छन्, ‘सद्भावना पार्टीबाट राजनीतिमा हाेमिएकाे हुँ । मधेसकाे विकास जनमत पार्टीले मात्रै गर्न सक्ने मलाई लागिरहेकाे छ ।’
तर मधेसमा जनमत पार्टीप्रतिकाे आकर्षण परालकाे आगाेजस्ताे मात्रै रहेकाे कतिपयकाे बुझाइ छ । ‘सप्तरी राउतको आफ्नै क्षेत्र भएकाले पनि केही सर्मथक देखिएका छन्’, जनता समाजवादी पार्टीकी नेतृ तथा महादेवा गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादव भन्छिन्, ‘नयाँनयाँ पार्टी भएकाले केही समर्थक देखिएका छन् तर याे आकर्षण कति रहन्छ, हेर्न बाँकी छ ।’
राउतले मधेसमा बलियाे पकड बनाउने हाे भने जनताका समस्यालाई राजनीतिकरण गर्नुभन्दा पनि समाधानको पक्षसँग जोड्नुपर्ने बताउँछन् मधेस प्रदेशसभा सदस्य अभिशेष यादव । उनले भने, ‘लोकतान्त्रिक सरकार छ । सरकारले के गरेन र के गर्न पर्याे भनेर सुझाव दिँदा हुन्छ’, उनले भने ‘ लोकतान्त्रिक प्रक्रियाले राजनीति गर्नुपर्छ ।’
राउतको पार्टीले उठाएको मुद्दा नाजायज नरहे पनि उद्दण्ड गतिविधिकाे समर्थन गर्न नसकिने बताउँछन् महादेवा गाउँपालिकाका स्थानीय सरोज कुशवाहा । उनले भने, ‘सरकारलाई जवाफदेही बनाउने हो, बनेन भने कानुन छ नि ।’ सर्लाही मलंगवा नगरपालिकाका हेमन्त साह भन्छन्, ‘राउतको हर्कत जनताले मन पराएका छैनन् । बन्द गर्ने र तोडफोड गर्नेहरू कसरी जनताको पक्षधर हुन्छन् ?




