भट्टराईले निगमको नाममा रहेको हेटौंडा, वीरगञ्ज, धनगढी र काठमाडौं लगायत स्थानको जग्गा व्यवस्थापन र व्यापारिक भवन निर्माण सम्वन्धमा मास्टर प्लान वनाउन र डिजाइन गर्नका लागि भन्दै आफन्त र एकै कम्पनीका व्यक्तिलाई ठेक्का दिएको पाइएको हो ।
२० लाख भन्दा बढी रकमको ठेक्का दिँदा सार्वजनिक खरिद नियमावली अनुसार बोलपत्र आह्वान गरेर गर्नुपर्ने भएपनि सीईओ भट्टराईले आफूनिकटका व्यक्तिहरुबाट कोटेशन माग गरी सेटिङमै ठेक्का दिएको पाइएको हो ।
सीईओ भट्टराईले ८० लाखको ठेक्कालाई टुक्राएर २० लाखका दरले ४ वटा कम्पनीहरुलाई दिएका थिए । प्राप्त कागजात अनुसार सीईओ भट्टराईले केन्द्रमा रहेको जग्गाको व्यापारिक प्रयोजन र व्यवस्थापनका लागि भन्दै लालिगुराँस इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिलाई १९ लाख ९ हजार ७ सय रुपैयाँमा ठेक्का दिएका छन् । जबकि उक्त ठेक्काको रकम २० लाख थियो । त्यहाँ चारवटा कम्पनीबाट कोटेशन लिएको जस्तो देखाएपनि ती चारवटै कम्पनी एकै व्यक्ति र समूहको भएको पत्ता लागेको छ । प्राप्त कागजात अनुसार केन्द्रमा रहेको जग्गा व्यवस्थापनका लागि भन्दै इन्स्टिच्युट अफ हिमालयन रिसर्च एण्ड इन्टीग्रेट डेभलपमेण्ट प्रालि, रचना इञ्जिनियरिङ कन्सल्ट्यान्ट प्रालि, जिओ यन्फो सोलुसन प्रालि र लालिगुराँस इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिसँग कोटेशन मागिएको थियो । ती मध्ये सेटिङमा लालिगुँरास कन्सल्टेन्सीलाई ठेक्का दिएको पाइएको छ । खुल्ला बोलपत्र आव्हान गर्दा ज्यादै सस्तोमा काम हुन सक्ने भएपनि सीईओ भट्टराईले सेटिङमै महङ्गोमा उक्त ठेक्का मिलाएका थिए ।
त्यसैगरी निगमले विराटनगरमा रहेको शाखा कार्यालयको जग्गामा व्यापारिक कम्प्लेक्स बनाउने भन्दै त्यसका लागि मास्टर प्लान वनाउन अर्को २० लाखको ठेक्का दिलाएको पाइएको छ । सीईओ भट्टराईले बिराटनगरमा व्यापारिक कम्प्लेक्स वनाउन भन्दै स्पेक्ट्रम यनोभेटिभ इञ्जिनियरिङ प्रालि, होमल्याण्ड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालि र ब्राइट फ्युचर कन्सल्ट्याण्ट प्रालिसँग कोटेशन लिएर ब्राइट फ्युचर कन्सल्ट्याण्ट प्रालिलाई उक्त ठेक्का दिएका छन् । कुल २० करोडको ठेक्का ब्राइट फ्युचरले १९ लाख ४० हजार ७७५ मा पाएको छ ।
त्यसैगरी निगमको नाममा रहेको शाखा कार्यालय हेटौंडामा रहेको जग्गामा कमर्सियल भवन बनाउने भन्ने मास्टर प्लान वनाउन अर्को १९ लाख १५ हजार ३५० रुपैयाँको ठेक्का दिएको पाइएको छ । उक्त व्यापारिक भवनको मास्टरप्लान र डिटेल्स आर्किटेक्चर निर्माणका लागि भन्दै सीईओ भट्टराईले इञ्जिनियरको घर, मसनाल कन्सल्ट र वाटर एण्ड इन्भाइरोमेन्ट इञ्जिनियरिङ प्रालिबाट कोटेशन लिएर सितारा कन्सल्टलाई उक्त ठेक्का दिएका थिए ।
त्यसैगरी शाखा कार्यालय धनगढीमा रहेको जग्गामा व्यापारिक भवन वनाएर भाडामा लगाउने प्रयोजनका लागि भन्दै सीईओ भट्टराईले अर्को २० लाखको ठेक्का दिलाएका थिए । सीईओ भट्टराईले कन्साइस्न कन्सल्टेयाण्टस्, पिस कन्सल्ट र सर्भे एण्ड डिजाइन कन्सल्ट प्रालिबाट कोटेशन लिई पिस कन्सल्टलाई १९ लाख २३ हजार ८२५ मा उक्त ठेक्का दिलाएका थिए ।
सार्वजनिक खरिद ऐन र नियमावलीले २० लाखभन्दा माथिको ठेक्कामा सार्वजनिक टेण्डर आव्हान गरी ठेक्का दिलाउनु पर्ने भएपनि सीईओ भट्टराईले ८० लाखको ठेक्कालाई टुक्रा पारेर २० लाखभन्दा कम रकममा हुने गरी ४ वटा ठेक्का दिलाएका थिए ।
ठेक्का पाउने ४ वटा कम्पनी फरकफरक नाम गरेको देखिएपनि ती सबै एकै व्यक्तिको भएको स्रोतको दावी छ । फरकफरक नाम गरेका कम्पनी भएपनि ती सबै कम्पनीका कागजातमा सम्पर्क नम्बर भने एउटै राखिएको छ ।
सेटिङमै ठेक्का दिएको पाइएपछि यतिबेला वन मन्त्रालयले ठेक्कासँग सम्वन्धित कागजात जफत गरी अनुसन्धान गरिरहेको छ । चारवटा कम्पनी भनिएपनि ती सबै कम्पनीको फोन नम्बर एउटै रहेको पाइएपछि मिलेमतोमै आर्थिक लाभ लिनेगरी ठेक्का दिएको पाइएपछि उक्त ठेक्काको काम नगर्न नगराउन निर्देशन दिँदै मन्त्रालयले यस सम्वनधमा छानबिन गरिरहेको पाइएको छ ।




