जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। सस्तो लोकप्रियता कमाउन खोज्नेहरूले यस्तो विवाद सिर्जना गरेको उनले बताए।
आज जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले एमसीसी परियोजना विशद्ध रुपमा विकाससँंग जोडिएको हुँदा यसमा विवाद गर्नुको अर्थ नरहेको बताए। ‘एमसीसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायहरुले आफनो पक्षबाट कुरा राखेर सबै स्पष्ट पारिसकेको हुँदा यस्तो अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सिर्जना गर्नु उचित होइन,’ उनले भने।
अध्यक्ष ठाकुरले एमसीसी आयोजनामार्फत सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनका लागि यो महत्वपूर्ण हुने बताए। उनले लोसपा पार्टीमा कुनै विवाद नरहेको बताए। उनले भने, ‘पार्टी छोडेर जानेहरुलाई रोक्न सकिंदैन।’