आशिक हुसैन शेख / दोहा, कतार
कतारको राजधानी दोहास्थित अल मतार कदिम क्षेत्रमा नेपालीद्वारा सञ्चालित “दिलवाले रेस्टुरेन्ट”को तेस्रो शाखा भव्य रूपमा उद्घाटन गरिएको छ। दक्षिण एसियाली समुदायको स्वाद र संस्कृतिलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको नयाँ शाखाले नेपाली, भारतीय, पाकिस्तानी तथा बंगलादेशी समुदायका लोकप्रिय परिकारहरू एउटै स्थानमा उपलब्ध गराउने उद्देश्य राखेको सञ्चालक पक्षले जनाएको छ।



उद्घाटन समारोहमा नेपाली, भारतीय, पाकिस्तानी तथा बंगला समुदायका विभिन्न व्यक्तित्व, व्यवसायी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले विदेशमा बसेर पनि आफ्नै देशको स्वाद र संस्कृति जोगाउने प्रयासको प्रशंसा गरेका थिए।
दोहामा छोटो समयमै छुट्टै पहिचान बनाउन सफल दिलवाले रेस्टुरेन्टले ग्राहकको बढ्दो विश्वास र मायालाई मध्यनजर गर्दै तेस्रो शाखा सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ शाखा आधुनिक व्यवस्थापन, सफा वातावरण तथा पारिवारिक माहोलसहित सञ्चालनमा आएको छ।
रेस्टुरेन्टमा दक्षिण एसियाली समुदायले मन पराउने विभिन्न प्रकारका स्न्याक्स, चाट, मिठाई तथा परम्परागत परिकारहरू उपलब्ध रहेका छन्। समोसा, समोसा पाव, चोला समोसा, आलु वडा, पकौडा, ब्रेड पकौडा, पानीपुरी, भेलपुरी, दहीपुरी, आलु टिक्का चाट लगायतका लोकप्रिय स्न्याक्स ग्राहकका लागि विशेष आकर्षण बनेका छन्।

त्यस्तै मिठाईतर्फ गुलाब जामुन, रसगुल्ला, रसमलाई, जलेबी, बुँदी लड्डु, बेसन बर्फी, पेडा, मिल्क केक, काजु कतली, काजु रोल, मालाइ स्यान्डविच लगायतका विभिन्न मिठाईहरू उपलब्ध छन्। साथै गाजर हलुवा, रवा हलुवा, काजु हलुवा, बदाम हलुवा तथा खजुर हलुवा लगायतका परिकारले पनि ग्राहकको ध्यान तानेका छन्। नेपाली समुदायका लागि विशेष रूपमा सेलरोटी तथा अन्य परम्परागत स्वादिष्ट खानेकुराहरू समेत राखिएको छ।
उद्घाटन कार्यक्रममा सहभागीहरूले दिलवाले रेस्टुरेन्टले विदेशमा रहेका दक्षिण एसियाली समुदायलाई आफ्नै घरको स्वाद दिलाउने विश्वास व्यक्त गरेका थिए। कतारमा कार्यरत नेपाली, भारतीय, पाकिस्तानी तथा बंगला समुदायका व्यक्तिहरूले यस्ता रेस्टुरेन्टले आपसी सम्बन्ध र सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने बताएका छन्।
सञ्चालक मुमताजका अनुसार गुणस्तरीय स्वाद, सफा वातावरण, ग्राहकप्रति सम्मानजनक व्यवहार तथा उचित मूल्यमा सेवा प्रदान गर्नु नै रेस्टुरेन्टको मुख्य उद्देश्य रहेको छ। “हामी सबै समुदायलाई एउटै परिवारझैं सेवा दिन चाहन्छौं। यहाँ आउने ग्राहकले आफ्नै देशको स्वाद महसुस गर्न सकून् भन्ने हाम्रो प्रयास हो,” उनले बताए।
दोहामा विस्तार हुँदै गएको दिलवाले रेस्टुरेन्टको यो तेस्रो शाखाले आगामी दिनमा अझ धेरै ग्राहकको मन जित्ने विश्वास गरिएको छ। उद्घाटन समारोहमा सहभागीहरूले रेस्टुरेन्टको सफलताको शुभकामना व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरेका थिए।




