सुनिता बराल/महोत्तरी
धादिङ धुनिबेंसीकी ३४ वर्षीया सरस्वती श्रेष्ठ सप्तरीको एक कपडा पसलमा काम गरेर गुजारा चलाउँदै थिइन् । करिब डेढ वर्षअघिको कुरा हो, पसलबाट काम सकेर डेरातर्फ जाँदै थिइन्‚ बाटो काट्ने क्रममा टिपरले ठक्कर दियो । होस अस्पतालमा खुल्यो । होस त खुल्यो तर जीवनका सबै ढोका बन्द भएको महसुस उनले त्यतिबेलै गरिन्‚ जब थाहा भयो दायाँ खुट्टा सद्दे छैन ।



अस्पतालमा लामो समय उपचार चल्यो‚ निको भएन । काट्नैपर्ने डाक्टरको सल्लाह थियो । एउटा खुट्टा गुमाएसँगै उनको जीवनमा अर्कै मोड आयो ।
अस्पतालबाट फर्किएपछि श्रीमान सुबोधले कमाएर पाल्न नसक्ने भन्दै उनलाई माग्न पठाउन थाले । सरस्वती सुनाउँछिन्, ‘अशक्त देखेपछि जो कोहीले मागेको कुरा दिन्छ भन्दै माग्न पठाउने र नगए कुटपिट गर्न थाले ।’ मागेर ल्याए मात्रै श्रीमान् खुसी हुने भएकाले उनी सँगै बस्न नसक्ने अवस्थामा पुगिन् । श्रीमानको साथ नपाएपछि परिवार छुट्टियो । उनी अहिले बर्दिवास-५ स्थित टुटेश्वरनाथ मन्दिर परिसरको आश्रय स्थलमा बस्छिन् । मन्दिर परिसरलाई बासस्थल बनाएकी छन् । उनका १० र १३ वर्षका दुई छोरी धादिङमा छन् । शारीरिक अवस्थाका कारण आफ्नै बिचल्ली भएकाले दिदीको जिम्मा लगाएका छोरीहरु सम्झेर उनी उदास भइरहन्छिन् ।
गत बिहीबार सरस्वतीले कृत्रिम खुट्टा पाइन् । अब उनले वैशाखीको सहारा लिनु नपर्ने भयो । रोटरी क्लब अफ बर्दिबासले आयोजना गरेको शिविरमा उनले नि:शुल्क कृत्रिम खुट्टा पाएकी हुन् । खुट्टा पाएपछि उनलाई जीवनमा केही गर्ने आत्मविश्वास बढेको छ । ‘अब केही त गर्छु भन्ने आत्मबल आएको छ,’ उनले भनिन्, ‘कसैको पसलमै पनि फेरि काम गर्न सक्छु । वैशाखी छुटेपछि अपांग जस्तो पनि नदेखिने रहेछ, कसैले त काम देलान् कि !’

तीन वर्षअघि ट्रयाक्टर दुर्घटनामा परेका सर्लाही हरिपूर्वा-२ का दशरथ रायको देब्रे खुट्टा काटिएको छ । खेती किसानी गर्ने रायले १० कट्ठा जग्गा बेचेर १८ लाख खर्च गरे । खुट्टा जोगिएन‚ सम्पत्ति सकियो । त्यसपछि परिवारको माया पनि पाउन छाडे । बुढेसकालमा रोटरी क्लबले खुट्टा दिएकाले जीवनको सहारा पाएको महसुस भएको दशरथले बताए ।
धनुषाको लालगढमा ५ वर्षअघि दुर्घटनामा परेका बर्दिवास-१ का प्रदीप आचार्य एउटा खुट्टा गुमाएपछिको पीडामा छन् । देब्रे खुट्टामा चोट भएका उनले उपचार नगराएका होइनन् । निकै धेरै खर्च भयो । उनले देब्रे खुट्टा गुमाए । ७ वर्ष वैदेशिक रोजगारीमा रहेर राम्रो कमाएका उनलाई अहिले खुट्टा गुमाउनुको छट्पटाहटसँगै अशक्त भएपछि हुने तिरस्कारको व्यवहारले सास्ती थियो । उनले पनि रोटरी क्लबमार्फत कृत्रिम खुट्टा पाएका छन् ।
जन्मँदै खुट्टा छोटो भएका महोत्तरी मटिहानी-१ का नजामुद्दीन अन्सारी अहिले ४३ वर्षका भए । २३ वर्षदेखि कृत्रिम खुट्टाको सहारामा चलिरहँदा जीवनमा कहिले कमजोर भएको महसुस गर्नु नपरेको उनी बताउँछन् । उनी मोटरसाइकल चलाउँछन् । अपांगता भएकाहरूको सहायताका निम्ति पुग्ने र सहयोग गर्ने अहिले आफ्नो पहिलो काम भएको उनले बताए । शारीरिक रूपमा कमजोर भएसँगै मानिस निकै टुट्ने भएकाले अशक्तलाई गर्ने व्यवहार कसैको फरक हुन नहुने उनी बताउँछन् । अशक्तका लागि मटिहानीमा उनले अपांग कल्याण संघ चलाएर सहयोग गरिरहेका छन् ।
बर्दिबासमा भदौ १६ देखि सुरु भएको नि:शुल्क कृत्रिम खुट्टा वितरण शिविरमा विभिन्न जिल्लाका एक सय जनालाई कृत्रिम हात-खुट्टा बनाएर वितरण गरिने रोटरी क्लब अफ बर्दिबासले जनाएको छ । जन्मँदै शारीरिक अशक्तता भएका र विभिन्न घटना दुर्घटनामा परि हातखुट्टा गुमाएका कारण दैनिक जीवनमा असहज परिस्थिति भोगिरहेकाहरूका लागि जिउने हौसलाका दिन शिविर आयोजना गरिएको रोटरी बर्दिबासका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए ।
भारतको रोटरी क्लब अफ जयपुर,रोटरी क्लब वीरगन्ज र नयाँ कदम ट्रस्टको प्राविधिक सहयोगमा बर्दिबास रोटरी क्लबले आयोजना गरेको उक्त शिविरमा १० दिनमा सोमबारसम्म ३६ जनालाई खुट्टा र ५ जनालाई हात वितरण गरिसकेको जानकारी गौतमले दिए । कृत्रिम हातखुट्टा खाँचो रहेको भन्दै नाम दर्ता गराउनेको संख्या डेढ सय नाघेको छ ।
कृत्रिम खुट्टा व्यक्तिको नापजाँचका आधारमा शिविरमै तयार गरेर वितरण गरिरहेको प्राविधिक टोलीका इन्जिनियर मोहमद नजमुल हसनले बताए । ‘एउटा प्राविधिकलाई एउटा हात वा खुट्टा बनाउन एक दिन लाग्ने भएकाले शिविरमा दैनिक ६ जना प्राविधिक खटिएका छन्,’ उनले भने ।




