महोत्तरी – औरही नगरपालिका–१ निवासी ४० वर्षीय जोगेन्द्र मण्डल गम्भीर रोगबाट पीडित भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ । वैदेशिक रोजगारीका क्रममा पक्षघात (प्यारालाइसिस) भएपछि स्वदेश फर्किनुभएका मण्डल हाल किड्नी, पेनक्रियाज तथा पेटसम्बन्धी जटिल समस्याबाट पीडित हुनुहुन्छ । परिवारका अनुसार उहाँको एउटा किड्नी पूर्ण रूपमा खराब भइसकेको छ भने विगत ६ महिनादेखि लगातार पेट दुख्ने, बान्ता भइरहने तथा शरीर कमजोर हुँदै जाने समस्या देखिएको छ । पीडित मण्डलले आर्थिक अभावका कारण समयमै उपचार गराउन नसक्दा रोग झन् जटिल बन्दै गएको बताउनुभयो ।

“विदेशमा रहँदा पक्षघात भयो, त्यहीँ उपचार गराएर नेपाल फर्किएँ । नेपाल आएको केही महिनापछि फेरि पेटमा असह्य पीडा सुरु भयो । अहिले सामान्य हिँडडुल गर्न सक्छु, तर उपचार गर्ने पैसा छैन,” उहाँले भन्नुभयो । उहाँले वैदेशिक रोजगारीबाट कमाएको सम्पूर्ण रकम तथा आफूसँग भएको जग्गासमेत बैंकमा धितो राखेर उपचार गराएको बताउनुभयो । “विदेशमा कमाएको सबै पैसा उपचारमै सकियो । भएको थोरै जग्गासमेत बैंकमा राखेर उपचार गराएँ । अब थप उपचार गर्ने अवस्था छैन,” उहाँले भावुक हुँदै भन्नुभयो । घरको एकमात्र कमाउने व्यक्ति बिरामी परेपछि परिवारसमेत समस्यामा परेको छ । उहाँका चार जना साना छोराछोरी र श्रीमती छन् । तीमध्ये एक छोरा र एक छोरी अपांग रहेको परिवारले जनाएको छ ।




विरामीकी श्रीमती प्रमिला देवीले आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारलाई निरन्तरता दिन कठिन भइरहेको बताउनुभयो । “घरमा कमाउने मान्छे नै बिरामी भएपछि धेरै समस्या भएको छ । बालबच्चाको पालनपोषण गर्नसमेत गाह्रो भइरहेको छ ।हालसम्म उपचारमा धेरै रकम खर्च भइसकेको छ, अब थप उपचार गराउन सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो । उहाँले मनकारी व्यक्ति, संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीसँग सहयोगको अपिल गर्नुभयो । “मानवताका नाताले सकेको सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु,” उहाँले भन्नुभयो ।

औरही नगरपालिका–१ औरही निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर उपसभापति मनोज कुमार चौधरीले मण्डलको उपचारका लागि आर्थिक सहयोग जुटाउन विभिन्न तहमा पहल सुरु गर्नुभएको छ ।चौधरीले मण्डलको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र उपचार अभावमा जीवन जोखिममा परिरहेको भन्दै सबै मनकारी व्यक्ति, संघसंस्था तथा समाजसेवीहरूसँग सहयोगका लागि अपिल गर्नुभयो ।

“जोगेन्द्र मण्डल लामो समयदेखि गम्भीर रोगसँग संघर्ष गरिरहनुभएको छ । उहाँको परिवारको अवस्था निकै कमजोर छ । उपचार अभावमा एउटा परिवार ठूलो संकटमा परेको छ,” उहाँले भन्नुभयो । उहाँले देश तथा विदेशमा रहेका नेपाली समुदाय, सामाजिक अभियन्ता, राजनीतिक दल, व्यवसायी तथा सहयोगी मन भएका सबैलाई मानवताको नाताले सहयोग गर्न आग्रह गर्नुभयो ।

“सानो–सानो सहयोगले पनि एउटा बिरामीको जीवन बच्न सक्छ । त्यसैले सबैले सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,” चौधरीले बताउनुभयो । परिवारिक स्रोतका अनुसार हालसम्म मण्डलको उपचारमा करिब १५ लाख रुपैयाँ खर्च भइसकेको छ भने थप १० लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ ।
सहयोग गर्न इच्छुक व्यक्तिले सिटिजन्स बैंक इन्टरनेशनल बैंक, औरही शाखा, महोत्तरीमा रहेको प्रमिला देवी मण्डलको नामको खाता नम्बर ०६६०१००००३८३४०४१ मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ । थप जानकारीका लागि ९७०२२२२३८८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।






