
जनकपुरधाम - मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि शनिवार बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । देशका सातवटै प्रदेशमा एकै दिन बजेट सार्वजनिक गरिन्छ । मधेश प्रदेशका अर्थ मन्त्री भरतप्रसाद साहले दिएको जानकारी अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । बजेट प्रस्तुत गर्न प्रदेश सभाको बैठक शनिवार दिउँसो ४ बजे डाकिएको छ ।
अर्थमन्त्री साहले चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने सम्भावना रहेको बताए ।
सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उनले बताए । चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यस पटक पनि सोही हाराहारीमा आउने सम्भावना रहेको अर्थ मन्त्रालयका एक कर्मचारीले बताए ।