
धारापानी, धनुषा
धनुषाको धारापानी जारी ‘दोस्रो अन्तर नगरपालिका मेयर कप–२०७८’ फुटबल प्रतियोगिताअन्तर्ग बुधबार भएको खेलमा आयोजक बि टीम विजयी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका र आयोजक धनुषाधाम नगरपालिका बी टीमबीच भएको खेलमा आयोजक बी टीमले ट्राइबेकरमा ५–४ गोल अन्तरले जनकपुर उपमहानगरपालिका फुटबल टीमलाई पराजित गर्दै विजयी भएको हो ।
निर्धारित समयसम्म दुवै टीमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा परिणत भएको थियो । ट्राइबेकरमा आयोजक बी टीमका पाँचवटै खेलाडीले गोल गर्न सफल भए भने पराजित टीम जनकपुर उपमहानगरपालिका तर्फका खेलाडी राकेश यादवले प्रहार गरेको पेलान्टी बल किपरले सहजै रोकिदिएका थिए ।
प्रतियोगिताको म्यान अफ दि म्याच आयोजक बी टीमका किपर नरेश दङ्गालले पाए । उनलाई यज्ञभूमि बहुमुखी क्याम्पसका प्रध्यापक तिलकबहादुर कार्कीले ट्रफी प्रदान गरेका थिए ।
धनुषाधाम नगरपालिकाको आयोजना तथा यज्ञभूमि युवा समाज धारापानीको संयोजकत्वमा ‘दोस्रो अन्तर नगरपालिका मेयर कप–२०७८’ फुटबल प्रतियोगिता धारापानीमा शनिबारबाट सुरु भएको छ ।
