
महोत्तरी - कावरिया सेवा समितिले ११ हजारभन्दा बढी कावरियालाई निःशुल्क भोजन गराएका छन् । साउनको पहिलो सोमबारदेखि चौथो सामबारसम्म आइपुग्दा ११ हजारभन्दा बढी कावरियालाई निःशुल्क भोज गराएको समितिका अध्यक्ष महेश्वर महतोले बताए । उनले महिनाको पहिलो सोमबार टुटेश्वरमै निःशुल्क भोजनको व्यवस्था गरेपनि त्यसयता गौशाला नगरपालिका २ निगौल चौकमै कावरियाहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्दै आएको बताए ।
समितिले प्रत्येक सोमबार टुटेश्वर महादेवको दर्शन गरेर फर्कदै गरेका बोलबम यात्रुहरुलाई गौशाला २ निगौल चौक स्थित दुर्गा मन्दिरको प्रांगनमा निःशुल्क भोजनको व्यवस्था गरेको थियो । अध्यक्ष महतोले प्रत्येक बर्ष साउनमा बोलबम यात्रुहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्दै आएकोमा यस पटकपनि त्यसलाई निरन्तरता दिएको बताए । उनले अब आगामी वर्षमा समेत यस कार्यलाई आफुहरु जारी नै राख्ने बताए । समितिले विभिन्न दाता र समितिका पदाधिकारी तथा सदस्यहरुको आर्थिक सहयोगमा बोलबम यात्रीहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्दै आएका थिए ।
समितिले पहिलो सोमबारका दिन करिब ७ सय कावरियालाई निःशुल्क भोजन गराएका थिए भने दोस्रो सोमबार २ हजारभन्दा बढी, तेस्रो सोमबार ४ हजारभन्दा बढी र अन्तिम सोमबार ३६ सय भन्दा बढी कावरियालाई निःशुल्क भोजन गराएको समितिका करण महतोले जानकारी दिए । उनले टुटेश्वर महादेबबाट फर्केकाहरुलाई भोजन गराउन पाउँदा आत्मसंतुष्टि भएको र यसलाई आफुहरुलाई थप उर्जा प्राप्त भएको बताए ।
उनले आगामी दिनमा समेत विभिन्न धार्मिक कार्यक्रमहरुमा यस्तो सामाजिक कार्यलाई निरन्तरर्ता दिने बताए ।