
धनुषाा- लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य वृशेषचन्द्र लाल र पूर्व सांसद् डा. विजय कुमार सिंहको नेतृत्वमा केहि नेता कार्यकर्ताहरुले आज देखि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का पूर्व केन्द्रीय सदस्यहरु र जिल्ला एवं स्थानीय तहका नेताहरुले उनीहरुसँगै लोसपा परित्याग गरेका हुन्।
लोसपा परित्याग र पार्टी प्रवेश कार्यक्रमको अवसरमा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता लालले मधेश र मधेशीको मुद्दा दलहरुले छाडेका हुनाले आफूहरु सो पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन् ।
नेता लालले लोसपा विधि, विधान र लोकतान्त्रिक पद्धतिबाट नचलेकाले परित्याग गरेको बताए । उनले नेतृत्वपङ्क्ति मधेश केन्द्रित नामबाटै तर्सिन थालेको र लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालेको आरोप लगाए।
नेता लालले भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैली बोकेको मधेशलाई विभिन्न नाममा विभाजन गरी स्वार्थ सिद्ध गर्न खोजेको आरोप लगाउँदै उनले मधेशी जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेशका एजेन्डाप्रति प्रतिबद्ध राजनीतिक दलको आवश्यकता भएको बताए।
त्यसैगरी अर्का नेता डा. सिंहले तमलोपालाई क्षेत्रीय पार्टीको रुपमा विकसित गरिने बताए। उनले क्षेत्रीय पार्टीहरु जीवित रहेको खण्डमा मात्र संघीयता मजबुत हुने बताउँदै उनले भने, ‘मधेशका राजनीतिक दलहरु जनताको विद्रोहपूणर् संघर्ष र बलिदानलाई सम्बोधन गर्न सकेनन्, त्यसैले जनताको संघर्ष र बलिदानलाई सम्बोधन गर्न वृहत राजनीतिक शक्तिको निर्माण गर्ने विषयलाई नयाँ पार्टीले आफ्नो मुख्य एजेण्डा बनाउनेछ।’
उनले मधेशको चाहना र आवश्यकता अनुसार तमलोपालाई बलियो बनाउने र यस क्षेत्रको भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैलीको उत्थानका लागि कार्य गर्ने बताए ।
मधेश आन्दोलनको शुरूआतसँगै तमलोपा हुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीलाई अवमूल्यन गरेको असन्तुष्ट नेताहरूले आरोप लगाएका छन् ।
महन्थ ठाकुर नेतृत्वको लोसपा छोडेर नेताहरू तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) लाई ब्युँताउने तयारी गर्न लाग्नुभएको छ। जसपाभित्र पनि विवाद चलि रहेकै वेला निर्वाचन आयोगमा तमलोपा दर्ता भएको थियो।
धनुषाका रविशंकरलाल कणर्को नेतृत्वमा तमलोपा दर्ता भएको छ। कणर् नेता लाल निकट मानिन्छन्।
आगामी फागुन १५ गते तमलोपाको राष्ट्रिय सम्मेलन गरी पार्टी वृशेषचन्द्र लाल अध्यक्ष र वरिष्ठ नेता डा. विजय कुमार सिंह रहने तयारी गरिएको जनाएको छ।
https://www.facebook.com/shirishonline1/videos/1857717091084219