जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले यसपटक सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सभापतिका लागि निधिले उम्मेदवारी दर्ता गरेसँगै उपसभापति निधिको चर्चा मधेसमा सबैभन्दा बढी भइरहेको छ। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नेतृत्व कुनै मधेशीले समेत पाउन सक्छ भन्ने विश्वास आम मधेशीमा निधिको उम्मेदवारीले पलाएको छ।
२०७४ को प्रतिनिधिसभा चुनावमा धनुषा–३ बाट पराजित निधि यसपटक पार्टीकै सभापतिमा उम्मेदवारी घोषणा गर्नुले मधेसमा कांग्रेसको राजनीतिलाई बल दिएको छ। शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिन चाहेपछि उपभापति निधिले विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दिने हिम्मत देखाएका हुन्। यो सँगै संस्थापन पक्षका मधेसका नेता कार्यकर्ता दुई गुटमा बाँडिएका छन्। यद्यपि मधेशमा निधिको पल्ला भारी रहने निश्चित छ।
राजनीति निधिले पारिवारिक विरासतमा पाए पनि कांग्रेसभित्र विमलेन्द्र निधि त्यस्ता नेता हुन्, जो पिताको विरासतको छायाँ बाहिर आफ्नै संघर्षबाट स्थापित भए। विमलेन्द्रले स्थापित गरेको अर्को मान्यता के हो भने बाबु चुनाव लड्दासम्म उनले टिकट खोजेनन्।
२०५१ को मध्यावधि निर्वाचनमा बाबुले छाडेको तत्कालिन धनुषा–४ बाट उनी पहिलोपटक सांसद भए। २०५६ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा धनुषा–३ बाट विजयी भए। उनले जनकपुर नगर समेटिएको धनुषा–४ छोड्नुको प्रमुख कारण थियो– त्यो निर्वाचन क्षेत्रमा जातिवादी, अतिवादी र आपराधिक सोच भएकाहरू निर्णायक बन्नु। त्यसो त मधेशी समुदायका भए पनि कांग्रेसको सिंगो पार्टी संगठनमा छाएका नेता विमलेन्द्र सभापतिको उम्मेदवारी दर्ता गरेसँगै उनको चर्चा झन् बढेको हो। संविधान जारी हुनुअघि उनले पार्टीको संसदीय दलमा पेश गरेको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता वितरण लगायतका मागले कांग्रेसभित्र हल्लीखल्ली भएको थियो।
विमलेन्द्र कार्यकर्तामाझ ’विमल दाइ’ का रूपमा चिनिन्छन्। मधेशका मुद्दामा आक्रामक रूपमा पेश हुन थालेका उनी मधेशी समाजमा निर्णायक मानिने जातीय समीकरण मिलाएर कांग्रेसको प्रभाव फर्काउन सफल हुन्छन् भन्ने प्रश्न खडा भएको छ।
दुई दशकअघि नेपाली कांग्रेसको बहुमतले प्रधानमन्त्री बनाउने निर्णय गर्दागर्दै महेन्द्रनारायण निधि जनकपुर फर्किनुपरेको थियो। आज त्यही हैसियतमा पुग्न थालेका उनका छोरा विमलेन्द्रमाथि मधेशी भएकै कारण भोग्नुपर्ने चुनौती पनि छन्। यी सबै चुनौतीलाई पार गर्दै निधि सफलताको झण्डा लहराउनेमा कांग्रेसी कार्यकर्ताहरुको विश्वास छ।
कांग्रेसमा कसरी भए स्थापित?
२०१७ सालमा जनकपुरधाममा कांग्रेसको दुई धार थियो। एउटाको धारको नेतृत्व विमलेन्द्रका बुवा महेन्द्रनारायण निधिले गर्थे। अर्को धारको नेता बोधप्रसाद उपाध्याय र सरोज कोइराला थिए। बीपीको सशस्त्र संघर्षको लाइनमा विमति राख्ने अहिंसात्मक राजनीतिका पक्षपाती महेन्द्रनारायणसँग सीमित मान्छे मात्रै थिए। जबकि विमलेन्द्र समेत उपाध्याय र कोइरालाकै दृष्टिकोणबाट नेविसंघको राजनीतिमा प्रवेश गरे। त्यसले नै उनीमाथि बीपीको नजर परेको थियो।
२०३६ को जनमत संग्रहपछि आएको केही खुलापनमा कांग्रेसभित्र ध्रुवीकरण शुरू भयो। बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाएकाले पार्टीमा महेन्द्रनारायणको भूमिका बढेको थियो। जनकपुरमा एउटा धारको नेता उनी नै थिए।
अर्को समूहको नेतृत्वमा भने लीला कोइरालाहरू आएका थिए। त्यसबेलासम्म राजनीतिमा आफ्नो परिचय बनाइसकेका विमलेन्द्रका निम्ति त्यो अर्को अनुकूलता थियो। जनकपुरमा सँगसँगै नेविसंघ र कांग्रेसको राजनीति गरेका वृषेशचन्द्र लाल त्यो अनुकूलताका बीच विमलेन्द्रले ‘काबिलियत’ देखाएको बताउँछन्। उनका अनुसार विमलेन्द्रले राजनीतिमा संघर्ष पनि डटेरै गरे। वृषेश भन्छन्, ‘अर्को सत्य कुरा के हो भने, निधिजीको छोरा भएकाले उनले पाए जति राजनीतिमा क्षमता बढाउने अवसर हामीले पाएनौं।’ पारिवारिक पृष्ठभूमि, जेलनेल भोगेको अवधि र आफ्नो गुटका नेताप्रतिको वफादारी कांग्रेसमा राजनीतिक योग्यताको आधार बन्ने गरेको छ। विमलेन्द्र निधिसँग यी सबै कुरा छन्। समावेशी लोकतन्त्रको नारा र त्यसमा पनि मधेशी समुदायको नेता हुनुको लाभ उनले उठाए। डा. रामवरण यादव राष्ट्रपति बनेपछि र महन्थ ठाकुर र विजय गच्छदारले पार्टी छाडेपछि त अवस्था यस्तो आयो, कांग्रेसमा उनी बराबर राजनीतिक हैसियत र उचाइ भएका मधेशी नेता कोही भएनन्। मधेशको नाममा कांग्रेसभित्र विमलेन्द्रको विकल्प र चुनौती उनी आफैं बन्न पुगे।
यहाँसम्म कि कांग्रेस पार्टी विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको नेतृत्व शेरबहादुर देउवाले गरे। यद्यपि त्यति बेला कांग्रेस प्रजातान्त्रिकको नेतृत्व देउवा होइन, विमलेन्द्र निधि गर्दैछन्् भन्थे कतिपयले। त्यसकै फलस्वरुप देउवा पार्टीको सभापति हुँदा निधिलाई उपसभापतिमा मनोनित गरे। देउवालाई संकट पर्दा समय समयमा निधि नै संकटमोचकको रुपमा आए। तर १४औँ महाधिवेशनमा देउवाले नै पार्टीको नेतृत्व गर्ने भनेपछि निधिले उनै देउवा विरुद्ध विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
देउवासँग विद्रोह गरेर उम्मेदवारी दर्ता गरेर साहसको परिचय दिएको मधेशका कतिपय व्यक्तिको बुझाइ छ। हारजित आफ्नो ठाउँमा छ, विमलेन्द्र निधिको उम्मेदवारी दर्ताले पूरै मधेशलाई तरंगित बनाएको छ।-जयन्त ठाकुर /नेपाल समय