महोत्तरी – महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित खखना दक्षिणबारी टोलमा चोरीको प्रयास विफल पार्ने क्रममा गोली प्रहार हुँदा एक दम्पती घाइते भएका छन् ।
मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्न खोजिरहेका ५/६ जना अपरिचित व्यक्तिसँग भएको प्रतिवादका क्रममा स्थानीय २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



प्रहरीका अनुसार प्रतिवादका क्रममा ती व्यक्तिहरूले चलाएको गोली लागेर दम्पती घाइते भएका हुन् । घाइते दुवै जनाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरधाम पठाइएको छ ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार चोरीको उद्देश्यले घरमा प्रवेश गरेका व्यक्तिहरूसँग भएको प्रतिरोधका क्रममा उक्त घटना भएको हो । प्रहरीले घटनाको सबै पक्षबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




