महोत्तरी – साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका महोत्तरीका किसान अहिले प्रेरक व्यक्तिको उदाहरणका रूपमा उभ्याइने गरिन्छ । ‘गरे के हुँदैन ?’ भन्ने आहान महोत्तरीको भङ्गाहा–४, रामनगरका किसान सत्यदेव महतोले सङ्कल्प र लगनले चरितार्थ गरेको छ । झन्डै १६/१७ वर्षअघि तरकारी खेतीमा जोडिनुभएका महतोलाई अहिले न फुर्सद छ, न पछाडि फर्कनुपरेको छ । केही गर्ने हुटहुटी, सङ्कल्प र लगनले नै उहाँलाई यो सफलता प्राप्त भएको हो ।
करिब एक बिघा (२० कट्ठा) जग्गामध्ये १५ कट्ठामा तरकारी खेती गर्नुभएका महतोको बारीमा परवल लहलहाएको छ । खुर्सानीका बोट फूल र चिचिलाले झपक्क छन् । त्यसैगरी काँक्रा, बोडी, घिरौला, झिगुनी, लौका र फर्सीका लहरामा आँख्लैपिच्छे फल लागेका छन् । सबैभन्दा रहरलाग्दो त उहाँको करेला खेती छ । महतोले बर्सेनि पाँच, छ कट्ठामा करेला खेती गर्दै आउनुभएको छ । मुख्य सडक छेउकै बारीमा रहेको उहाँको बारीको मचानमा परैबाट लटरम्म देखिने करेला हेर्न बटुवा पुग्छन् ।



तरकारी खेतीमा जम्नुभएका महतोको विशेष पहिचान भने करेलाले नै बनाएको छ । वर्षभरिमा फरकफरक मौसम (सिजन)मा गरेर पाँच/छ कट्ठा करेला खेती गर्दै आउनुभएका उहाँको करेला खेती सडकबाटै देखिने हुँदा बटुवाका लागि यो प्रदर्शनीजस्तै बनेको बर्दिबास–२, बारनचौडीका उमेश आचार्य बताउनुहुन्छ । “करेला खेती त अन्त पनि भएकै छ, तर सतो (सत्यदेवको बोलाउने नाउँ)को खेती हेरेपछि मन दङ्ग हुन्छ”, महतोको करेला बारी पुग्नुभएका आचार्य भन्नुहुन्छ । भङ्गाहा र वरपर छरछिमेकका बस्तीमा तरकारी खेतीको कुरा चल्यो कि त्यहाँ सत्यदेवको कुरा उप्किहाल्छ । महतोले मौसम अनुसारको बोडी, खुर्सानी, काँक्रा, परबल, झिगुनी, लौका, फर्सी, घिरौला र ओलसहितका तरकारी लगाउनु भए पनि उहाँलाई चिन्नेले करेलाकै नामबाट उभ्याउँछन् ।
दाजुभाइबिच अंशवण्डा भएपछि कमाउन कतार जाने सोचले राहदानी बनाउनुभएका महतो कतै ऋण नपाएपछि विलखबन्द पर्नुभएको थियो । अब बाँच्न तरकारी खेतीमा लाग्छु भनेर काम थाल्नुभएका उहाँले त्यसयता कहिल्यै पछाडि फर्कनुपरेको छैन । “आफूसँग भएको करिब एक बिघाजति जग्गामध्ये १५ कट्ठामा तरकारी खेती गर्छु”, महतो भन्नुहुन्छ, “यसले मलाई सधैँ काममा अघि बढ्न हौसला दिएको छ ।” तरकारीखेती थालेपछि दुईचार पैसाका लागि कसैसँग हात थाप्नु नपरेको र उल्टै छरछिमेकको आपत् विपद्मा सरसहयोग गर्न पाउँदा सन्तोष मिल्ने गरेको उहाँ बताउनुहुन्छ ।
पाँच कट्ठाको अन्नबाली (धान, गहुँ)ले खाने अन्न र १५ कट्ठा तरकारीखेतीले बर्सेनि १०–१२ लाख नगदको जोहो भएपछि त्यतिखेर विदेश जान ऋण नपाएर ठिकै भएछ भन्ने लाग्ने गरेको उहाँले बताउनुभयो । “मेरो करेला खेतीले मान्छेको मन तानेको छ, मलाई नाउँ नजान्नेले त ‘करेलावाला’ नै भन्ने गरेका छन्”, उहाँ भन्नुहुन्छ, “यसले कमाइ पनि राम्रै दिएको छ । अरूभन्दा करेलामा बढी रेखदेख र स्याहार पुर्याउन पर्ने हुँदा सबैले यो खेती गर्दैनन्”, उहाँ भन्नुहुन्छ, “मैलेचाहिँ बर्सेनि गर्दै आएको छु ।” लागत र रेखदेख बढी गर्न परे पनि अन्य तरकारीको तुलनामा करेलाको भाउ सधैँ उच्च हुँदा कहिल्यै हरेस खान नपरेको उहाँको अनुभव छ ।
बाह्रैमास उत्पादन लिन सकिने करेला राम्रो जातको पर्दा रोपेको ५० दिनमै उत्पादन दिन थाल्ने महतोले बताउनुभयो । माया, राजधानी, विजेता र इण्डो–अमेरिकी जातका करेलाको खेती बढी हुने गरेको उहाँको भनाइ छ । “मचाहिँ बर्सेनि बारी फेरेर माया जातको करेला लगाउँछु”, महतोले भन्नुभयो । माया चाँडै फुल्ने, फल लाग्ने, रोगको प्रकोप कम हुने र लामो र ठुलो आकारको हुँदा ग्राहकको रोजाइमा पर्ने गरेको उहाँको अनुभव छ । “२०० ग्राम त सरदरकै हुन्छ, मेरो बारीमा एउटा करेला ३०० ग्रामसम्मको बाक्लै फलेको छ । करेलाखेतीले आफूलाई चिनाएको र आर्जन पनि राम्रै लिइएको उहाँ बताउनुहुन्छ ।
आफू खेतीमा जमेपछि विदेश जान तरखर गरेका आफ्ना पुस्ताका साथीलाई तरकारीखेतीमै डोहोर्याएको उहाँ सगर्व बताउनुहुन्छ । आफ्नै देखासिकी र प्रेरणाले बस्तीका पाँचसात जना विदेश जान त्यागेर तरकारीखेतीमा जमेका उहाँले नाम कमाउनुभयो । पैसो नपाएर विदेश जान नपाएका साथीलाई यही काम गरे कमाइ हुन्छ भनेर हौसला दिँदै बेलामौकाको सहयोग गरेपछि पाँच, सात जना अब तरकारी खेतीमै राम्ररी जमेका महतोको भनाइ छ । “मैले अब यतै काममा लाग, खेतीमा म पनि सघाउँछु भने, पाँच, सात जना लागे, राम्रै गरेका छन्”, ३६ वर्षीय महतोकै सङ्गतले तरकारी खेतीमा पसेका सो बस्तीकै उहाँका समवयी उपेन्द्र यादव, हसन कवारी, चन्देश्वर राय दनुवार र सरोज महतो पनि अहिले अब्बल किसानमा दरिनुभएको छ ।
तरकारी खेतीमा लागेर सफल किसान दरिएका सत्यदेव, हसन, उपेन्द्र, सरोज र चन्देश्वरसहितका समवयीका खेतीमा भोगिएका समस्या समान छन् । “भरपर्दो सिँचाइ छैन, चाहिएको ठिक्क बेला बिउबिजन, मल, औषधी पाइँदैन”, हसन भन्नुहुन्छ, “तीन तहका सरकार छन् भन्छन्, हामीलाई के समस्या छ भनेर सोध्नसम्म पनि कोही आउँदैनन् ।” सबैभन्दा बढी समस्या भरपर्दो बिउमा पर्ने गरेको किसानको अनुभव छ । ठिक्क बेलामा बिउ, मल, सिँचाइ नपाएरै खेतीको समय नाघ्ने गरेको तीतो अनुभव यी किसानले सँगालेका छन् ।
“बिउ भारतीय बजारकै भर हो, कहिले त राम्रै पर्छ, कहिले भने ठगिएका छौँ”, महतो भन्नुहुन्छ, “हाम्रा सरकारी निकायले पायक पर्ने ठाउँमा राम्रो बिउ किन्न दिए ठुलो राहत हुन्थ्यो”, त्यसैगरी कृषि प्राविधिकको सरसल्लाह र अनुगमन नहुँदा आवश्यक उपचार नपाएर मुखको बालीबाट हात धुनुपरेको विगत अनुभवले किसानी पेसा दुख्याहा कर्म नै रहेछ भन्ने धेरैलाई परेको छ । किसानलाई बिउ, मल, सिँचाइ, प्राविधिक सल्लाह र बजारको सुव्यवस्था हुनसके खेतीले राम्रो कमाइ गर्न सकिने यी किसानको ठम्याइ छ । रासस




