शैलेन्द्र क्रान्ति। कोही अन्यायमा परे प्रहरीसँग गुहार माग्छन्। त्यसैले नारा पनि छ : प्रहरी मेरो साथी। तर महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले एक प्रहरीसहित तीन जनालाई काल्पनिक घटना कथेर मुद्दा दर्ता गरी ८ दिन थुनेको खुलासा भएको छ।
स्थानीयका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका–६ स्थित बाँस झ्याङमा प्रहरीको संरक्षणमा जुवा अखडा सञ्चालन भइरहेको थियो। त्यसमा अवरोध गरेको आरोपमा उनीहरू तीन जनाजनालाई मुद्दा चलाइएको हो। जसमध्ये एक प्रहरी जवानलाई गोपनीयता भंग गरेको आरोपमा विभागीय कारबाही गरिएको हो।
जुवा खेलाउनेलाई संरक्षण दिन प्रहरीले काल्पनिक घटना खडा गरेर प्रहरी जवानसहित तीनै जनाविरुद्ध सार्वजनिक अपराध शीर्षकमा मुद्दा चलाइएको खुलेको हो। यो घटनामा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी आचार्य र प्रवक्ता एवं डीएसपी प्रकाश विष्टका वक्तव्य नै बाझिएका छन्।
स्रोतका अनुसार, लोहारपट्टीमा महिनौंदेखि जिल्ला प्रहरी कार्यालय (महोत्तरी) र प्रदेश प्रहरी कार्यालय (जनकपुर) को संरक्षणमा कौडा खेलाउने क्रम जारी छ। त्यहाँ दैनिक २० लाख रुपैयाँभन्दा बढी रकमको खेल हुन्छ। जहाँ नेपालसहित भारतबाट समेत जुवाडे आउँछन्।
कौडा खेल्न दिएबापत जिल्लादेखि मधेस प्रदेश प्रहरी कार्यालयसम्म ‘महिनाबारी’ (रकम) पुग्छ। जसको लाइन डीआईजीका घुमुवा महेन्द्र महतोले मिलाइरहेको स्रोतको दाबी छ।
त्यही कौडा खेलको विषयमा सुइँको पाएपछि इलाका प्रहरी कार्यालय (बर्दिबास) मा कार्यरत प्रहरी जवान दिलबहादुर खुलालसहित चार जना युवक गत माघ १६ गते दिउँसो लोहारपट्टी पुगेका थिए। त्यहाँ एक जनाले तस्बिर खिचेपछि भागाभाग भएको थियो।
त्यसपछि उनीहरू फर्किए। प्रहरीकै सेटिङमा भएको कौडा खेलको भण्डाफोर हुने भएपछि महोत्तरीका एसपी दिनेश आचार्य तर्सिए। अनि उनले माघ १७ गते दिउँसो प्रहरी जवानसहित तीन जनालाई भेटघाटका लागि भन्दै जिल्ला प्रहरी कार्यालय (जलेश्वर) बोलाए।
एसपी आचार्यले काल्पनिक घटना खडा गरी उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा नै चलाएका हुन्।
मुद्दाको बेहोरामा माघ १७ गते साँझ सडकमा गाडीमा गइरहेका बेला हिलो छ्यापिएको र त्यस क्रममा विवाद हुँदा आफूहख विशेष प्रहरी भन्दै उनीहरूले स्थानीयलाई कुटपिट गरेको आरोप लगाइएको छ। त्यस क्रममा पक्राउ गरेर शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रवक्ता विष्टको भनाइ छ।
तीनै जनालाई दबाब दिएर उक्त काल्पनिक घटनाको बयान दिन लगाएको स्रोतले जनाएको छ।
प्रहरीलाई विभागीय कारबाही गरी इप्रका (बर्दिबास) बाट हटाइएको छ। अन्य दुई जनालाई जिल्ला प्रशासन कार्यालयमा ५–५ सय रुपैयाँ धरौटी लिएर छाडिएको छ। उनीहरूलाई ८ दिनपछि प्रहरीले रिहा गरेको हो।
उनीहरूलाई माघ १७ गते दिउँसै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएइको थियो तर त्यही दिन साँझ उनीहरूले लोहारपट्टीमा कसरी गाडीले हिलो छ्यापे भन्ने प्रश्न प्रहरीप्रति तेर्सिएको छ।
त्यसो त डीएसपी विष्टले भनेजस्तो घटना नभएको कुरा एसपी आचार्यको वक्तव्यले पनि पुष्टि गर्छ। उनको वक्तव्यमा एक झाडीमा जुवा भइरहेका बेला उनीहरू पुगेर आफूहरू विशेष प्रहरी भन्दै लुटपाट गरेर भागेपछि पक्राउ गरेर मुद्दा चलाइएको उल्लेख छ।
जिल्ला प्रहरी कार्यालयकै एसपी र डीएसपीका भनाइले नमिल्नुले ती तीन जनाविरुद्ध झुटो मुद्दा दर्ता गरी हिरातमा राखिएको प्रस्ट हुन्छ।
उसो भए कौडा खेलाउने मान्छे एक जना पनि अहिलेसम्म किन पक्राउ परेनन्? जिज्ञासामा एसपी आचार्य भन्छन्, ‘हामी जुवातास खेलाउने मान्छेलाई पनि समात्न खोजिरहेका छौं। जानकारी आएपछि त्यहाँ प्रहरी पठाएका थियौं। तर पक्राउ परेनन्।’
‘घटना विषयमा तपाईं र डीएसपीको भनाइ फरक परिरहेको छ नि?’
एसपी आचार्यले अकमकिएर भने, ‘ठीक छ। हामीले अभद्र व्यवहारमा मुद्दा चलाएका हौं। जसबम्म कसैले लुटिएको निवेदन दिँदैन, तबसम्म लुटपाटका मुद्दा चलाउन मिल्दैन।’
जुवाडेको खोजिी गर्दा पनि फेला पार्न नसकिएको भनेर एसपी आचार्य तर्क गर्छन्। तर, दिनहुँ सोही स्थान र छेउछाउमा कौडा खेल जारी छ। लामो समयदेखि त्यहाँ किशोरी साह नाम गरेका व्यक्तिले कौडा खेलाउने गरेका छन्। उनी खुलेआम घुमिरहेका छन्।
घटना भएको दिनको तस्बिर नेपालखबले फेला पारेको छ। जसमा कौडा खेलाउने किशोरी साह स्वयम् त्यहाँ बसिरहेको देखिन्छन् भने सोही समूहका विजय साह उभिएका छन्। उनको धन्धा अझै जारी छ। नियमित प्रहरीको सम्पर्कमै हुन्छन् उनी। तर एसपी आचार्य भने जुवाडे फेला पार्न नसकिएको दाबी गर्छन्।
यसबाट पनि प्रहरीकै सेटिङमा कौडा खेलाउने गरिएको पुष्टि हुन्छ। जुवा खेलाउने किशोरी साहले माघ १६ गते कौडा खालमा एक प्रहरीसहित केही अन्यको संलग्नता रहे पनि समातिएका अन्य दुई युवक पूर्ण रूपमा निर्दोष भएको दाबी गरे।
‘प्रहरीले कार्ड देखाएपछि भागाभाग भयो। अन्य पनि तीन÷चार जना थिए। तर पक्राउ परेका अन्य दुई जना त्यहाँ आएका थिएनन्। उनीहरू पूर्ण रूपमा निर्दोष छन्। प्रहरीले किन पक्राउ गरेर मुद्दा चलायो, प्रहरीले नै जानून्’, किशोरी साहले नेपालखबरसँग भने।
‘उसो भए तपाईं त कौडा खेलाउने मान्छे, कौडा प्रतिबन्धित खेल हो, तपाईंलाई प्रहरीले किन समातेन?’
किशोरी साहले भने, ‘हाम्रो ९/१० जनाको समूह छ। सबै जना मिलेर कौडा खेल खेलाउँछौं। प्रहरी किन हामीलाई समात्दैन त्यो म भन्दिनँ।
यस विषयमा मधेस प्रदेशका डीआईजी रञ्जिताकारसँग प्रतिक्रिया लिन खोज्दा फोन उठेन।
महोत्तरीका सहायक सीडीओ उपेन्द्र न्यौपानेले भने मुद्दा चलिसकेकाले फैसला नहुन्जेल विचारधीन मुद्दामा केही भन्न नसक्ने बताए। स्रोत-नेपाल खबर ।




