मधेश प्रदेश
जनकपुरधाम। मधेस प्रदेश सरकारले आज (फागुन १ गते) पहिलोपटक जनयुद्ध दिवस मनाउँदै छ। जनयुद्ध दिवसको अवसरमा मधेस सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ।
प्रदेश मन्त्रिपरिषदको निणर्यानुसार फागुन १ गते जनयुद्ध दिवस मनाउन लागिएको र सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए।दिवसका अवसरमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गर्दैछ।
जनयुद्ध दिवसका दिन प्रदेश सरकारले मधेस भवन परिसर स्थित कभर्ड हलमा सहिदका परिवारलाई सम्मान तथा आर्थिक सहयोग वितरण कार्यक्रम गर्ने तयारी गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आउने तय भएको मन्त्री साहका प्रमुख स्वकीय सचिव विजय यादवले जानकारी दिए।
पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने स्वकीय सचिव यादवले जानकारी दिए।
तत्कालीन नेकपा माओवादीले २०५२ मा आज कै दिन अर्थात् फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादीहरूले जनयुद्ध दिवस मनाउने गरेका छन्।
मुख्यमन्त्री लालबाबु राउतले नेपालमा गणतन्त्र स्थापना तथा परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको जनाए ।




