
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा निजामती कर्मचारीको संरचनालाई चुस्त, दुरुस्त एवं प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन्।
मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाकक्षमा आज आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले धेरै संरचनाहरू हुँदा खर्च पनि बढी हुने र अपेक्षा अनुसारको परिणाम पनि नदिने भएकाले चुस्त एवं दुरुस्त संरचना बनाएर त्यसमार्फत प्रदेशवासीलाई प्रभावकारी सेवा दिनु पर्ने धारणा व्यक्त गरे।
उक्त छलफल कार्यक्रमले सङ्गठन तथा दरबन्दी संरचनाको विषयमा प्रतिवेदन तयार पारेर ७ दिनभित्रमा मन्त्रिपरिषदमा पेश गर्नका लागि मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरू समेत रहेको समितिको निर्माण गरेको दरबन्दी संरचना निर्माण समितिका सदस्य रुपेश साहले जानकारी दिए।
मधेश प्रदेशमा ८ जिल्ला मात्र भएको र धेरै अनावश्यक निर्देशनालय स्तरको संरचनाहरू खडा गरिएका कारणले प्रदेश सरकारको व्ययभार बढेको भन्दै खर्च घटाउनका लागि समितिको निर्माण गरिएको प्रमुख सचिव कृष्ण राउतले जानकारी दिए।
कार्यक्रममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओम प्रकाश शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, प्रमुख सचिव कृष्ण राउतसहितका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।