राजविराज । ६ सुत्रीय माग राखी चार दिन अघि गरिएको सप्तरीको सप्तकोशी नगरपालिकाको तालाबन्दी एकपक्षीय रुपमा खोलेर कामकाज सुरु गरेपछि आइतबार आन्दोलनकारी र ताला खोल्ने पक्षबीच झडप भएको छ ।
झडपमा परी एक वडा अध्यक्ष सहित दुई जना घाइते भएका छन् । आन्दोलनकारी पक्षका सप्तकोशी नगरपालिका–४ का वडाअध्यक्ष बद्री नारायण चौधरी र वडा ९ का किशुन यादव घाइते भएका हुन् ।



टाउको फुटेका दुबै जनाको स्थानीय फत्तेपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकारीले जबरजस्ती ताला खोल्ने पक्षले आक्रमण गरी घाइते बनाएको दाबी गरिरहँदा ताला खोल्ने पक्षले भने,‘आन्दोलनकारीले नै जथाभावी गरेको ढुंगामुढाबाट ती दुबै जना घाइते भएको दाबी गरेको छ ।’ प्रदर्शनकारीले हानेको ढुंगा लागेर नगरकार्यपालिकाको डिजिटल बोर्ड तथा विभिन्न शाखाको झ्यालका सिसाहरु समेत फुटेको नगर प्रमुख उत्तम गौतमले बताए । प्रदर्शन उग्र भएपछि नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिए पनि बल प्रयोग नगरिएको डिएसपी माधवप्रसाद काफ्लेले बताए । सत्तासीन गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले विभिन्न ६ बुँदे माग राख्दै विहीबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।
त्यसको भोली पल्टै शुक्रबार एकपक्षीय रुपमा जनप्रतिनिधिले ताला फुटाई कामकाज सुरु गरेपछि विवादले उग्र रुप लिएको चार दलद्वारा गठित संघर्ष समितिका संयोजक युवराज खनालको भनाई छ ।आर्थिक वर्ष २०७८/७९ मा नगर सभाद्वारा नगरका ११ वटै वडाका लागि तय गरिएको योजना कार्यान्वयनमा ल्याउनु पर्ने, महालेखा तथा आन्तरिक लेखा परिक्षकका क्रममा ठहर भएका बेरुजु विवरण सार्वजनिक गर्नुपर्ने, विभिन्न समयमा खरिद गरिएको उपकरणहरुको खरिद प्रक्रिया तथा कर्मचारी नियुक्ति लगायतका प्रकरणको छानबिन हुनुपर्ने लगायतका माग राखी गत माघ २४ गते नै नगर प्रमुखलाई संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो । तर वेवास्ता गरेको र लगाएको ताला पनि एकपक्षीय ढंगले फुटाई दिएकाले बाध्य भइ जनता सडकमा उत्रेको आन्दोलनरत पक्षको भनाई छ ।
यता नगरप्रमुख गौतमले वार्तामा बोलाउंदा पनि ताला लगाउने पक्ष नआउँदा सेवाग्राही मारमा परेकाले ताला तोडिएको दाबी गरेका छन् । स्थिति थप जटिल हुन नदिन र शान्तिसूरक्षा कायम गर्न अहिले त्यसतर्फ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




