महोत्तरी- सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । एमसीसीको एजेण्डालाई संसद्मा टेबल गराएर भित्र-भित्रै अनुमोदन गर्ने गम्भीर षडयन्त्र भएको भन्दै आज महोत्तरीको बर्दिबासमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।
माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीहरूले आफ्ना नेताहरूलाई खबरदारीसमेत गराएको छ ।



सर्वसाधारण, युवा तथा भातृ संगठनका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणबद्धरुपमा अगाडि बढाइने माओवादी केन्द्रका युवा नेता सौरभ खडकाले जानकारी दिए ।

एमसीसी फिर्ता नभएसम्म महोत्तरीका हरेक देशभक्त नागरिकलाई संघर्षको अभियानमा सहभागी गराउने खड्काको भनाइ छ ।
प्रदर्शनमा एमसीसीको विषयमा मौन बसेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स्थानीय नेतासमेत सहभागी भएका छन् । जन्ताको हित विपरीत नेताको स्वार्थको लागि एमसीसी अनुमोदन गर्नु घातक हुने बताउँदै नेकपा एमालेका स्थानीय नेता कुमार भण्डारीले चरणबद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने बताएका छन् ।
यसअघि पनि माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले एमसीसीको विरोधमा मसाल जुलुस निकालेको थियो । नेताहरूले सबैलाई भ्रममा पार्नेगरी भित्रभित्रै षड्यन्त्र गरिरहेको बिषयलाई मध्यनजर गर्दै आन्दोलनको जरुरत भएको वाइसीएल नगर कमिटीका इन्चार्ज बाबु चाैलाइगाईंले बताए । प्रदर्शनमा नेपाली कांग्रेस भने सहभागी थिएन ।




