महोत्तरी- नेकपा एमाले महोत्तरीको ११ र १२ फागुनमा तय गरिएको अधिवेशन स्थगित भएको छ ।
अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएको एमाले महोत्तरीले जनाएको छ ।
पार्टीको आन्तरिक विवादको कारण पटक-पटक स्थगित हुँदै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण गरेको थियो ।
प्रदेश कमिटीले निर्धारित मितिमा अधिवेशन गर्नका लागि गृहकार्य गर्न निर्देशन दिए पनि जिल्लामा देखिएको विवादले भोली बुधबार (११ फागुन) हुने भनिएको अधिवेशन पुनः स्थगित भएको हो ।
एमाले केन्द्रीय सदस्य तथा महोत्तरीका सहइन्चार्ज सरोज यादवले भोलि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको र अर्को मिति प्रदेश र केन्द्रसँग समन्वय गरेर तोकिने बताए ।
यता अधिवेशन हुन नदिन पार्टीभित्रका कतिपय नेताहरू लागि परेको एक पक्षको आरोप छ ।
अधिवेशनको मिति निर्धारण भइसक्दा पनि प्रतिनिधि चयन गर्न नै अड्को थापेर अधिवेशन लम्ब्याउन लागिपरेको नेताहरूको आरोप छ ।