काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नका लागि सहयोग गर्न प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। बालुवाटारमा आज भएको छलफलमा देउवाले यस्तो माग गरेका हुन्।
जवाफमा ओलीले पहिले संसद् खुलाउने वातावरण बनाउनुपर्ने बताएका छन्। ‘‘प्रधानमन्त्रीले एमसीसी पास गर्नुपर्यो, हाउस खुलाउनुपर्यो भन्नुभयो। हाम्रा अध्यक्षले जे भनेर हाउस बन्द गरेका छौं, पहिले ती विषय सम्बोधन गर्नुपर्यो भनेर जवाफ दिनुभएको छ,’’ बैठकमा सहभागी एमलो उपाध्यक्ष विष्णु पौडेलले भने।



बैठकमा सहभागी एमाले उपमहासचिव विष्णु रिमालले देउवा र ओलीबीच यसअघि तय भएर हुन नसकेको भेटघाट भएको गरिएको बताए। ‘‘पुरानै कुरा त होनी । संसद्मा एमसीसी टेबल गरेकै दिन भेट्ने कार्यक्रम थियो। तर, टेबलको लफडाले भेट भएन। प्रधानमन्त्रीले एमसीसी पास गर्दा सहयोग गर्नुपर्यो भन्नुभयो । हाम्रो अध्यक्षले हामीलाई पहिले संसद्मा प्रवेश गर्ने वातावरण बनाइदिनुस् भन्नुभयो,’’ उनले भने।
आजै दिउँसो ओली र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेट भएको थियो। त्यसअघि प्रधानमन्त्री देउवाले गत साता बालकोटमै पुगेर ओलीलाई भेटेका थिए।
सत्तारुढ दल नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी ९एस०ले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेकाले प्रधानमन्त्री देउवालाई एमसीसी पारित गर्न एमालेको साथ लिनु अनिवार्यजस्तै छ। माओवादी र नेकपा एसले एमसीसीको विपक्षमा मतदान गर्ने अडान अहिलेसम्म परिवर्तन गरेका छैनन्। गत आइतबार टेबल भएको एमसीसीबारे संसदमा आगामी बिहीबार छलफल हुँदैछ।
प्रधानमन्त्री देउवा जसरी पनि १६ फागुनअघि नै एमसीसी पारित गर्ने पक्षमा छन्। एमालेले भने एमसीसीबारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन।
पार्टीले कारबाही गरेका १४ जना सांसद्हरू पदमुक्त हुनुपर्ने माग गर्दै लामो समयदेखि एमालेले संसद् अवरूद्ध गर्दै आएको छ। एमालेको संसद् अवरोधकै बीच आइतबार एमसीसी टेबल गरिएको थियो।




