महोत्तरी - महोत्तरीको बर्दिबास नगरपालिकाले नगरभित्रका सबै किसानहरूलाई उन्नत जातको भैँसी पालन गर्न प्रोत्साहन गर्ने भएको छ ।
दूध बढी उत्पादन गरी किसानहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले भारतको हरियानाबाट मुर्रा जातको ११ वटा राँगा ल्याउने तयारी गरेको छ ।
नगरप्रमुख विदुर कार्कीका अनुसार न्युनतम दुईदेखि १० लाखसम्मका ११ वटा राँगा छानेर स्वास्थ्य परीक्षण गर्न पशुस्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।
मुर्रा उन्नत जातको भैँसी हो । यो जातको भैँसीले १७ लिटरसम्म दूध दिन सक्ने र कम मेहनतबाटै प्रसस्त आम्दानी लिन सकिने नगरप्रमुख कार्कीको भनाइ छ ।
प्रत्येक वडामा एक ब्रिडिङ सेन्टर स्थापना गरेर हरेकमा राँगा राखिने नगरपालिकाको तयारी छ ।
कम उमेरमा नै प्रजनन क्षमता भएकाले अबको तीन वर्षभित्र नगरभित्रका सबै किसानको गोठमा यो जातको भैँसी हुने नगरपालिकाको आशा छ ।
भारतको हरियानाका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँ राँगा तथा भैँसीको मूल्य पनि निकै महँगो छ ।